राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मत खस्यो, भोट नहाल्ने जनप्रतिनिधि को को हुन ?

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मत खस्यो । जनताले निर्वाचित गराएका जनप्रतिनिधिले मतदान गरेर राष्ट्रिय सभा सदस्य निर्वाचित गराउने संवैधानिक व्यवस्थामा जनप्रतिनिधि नै मतदानमा सरिक भएका छैनन् । त्यसमा स्थानीय तहका प्रमुख उपप्रमुखमात्र होइन प्रदेशसभा सदस्य पनि अनुपस्थित भएको छन् ।
यो निर्वाचनमा ५२९ प्रदेशसभा सदस्यले मतदान गर्न पाउने भए पनि मत ४९८ खसेको छ । ३१ जनाले मतदान गरेनन् ।
त्यस्तै पालिकाका प्रमुख उपप्रमुख एक हजार ४८२ जनाले मत हाल्न पाउने व्यवस्था भए पनि एक हजार ४२६ मत खसेको छ । ५६ जनाले मतदान गरेका छैनन् । यसरी दुई हजार ११ जना मतदाता भएको निर्वाचनमा एक हजार ९२४ मत खसेको छ । यसरी यो निर्वाचनमा ८७ मत नखसेको आयोगले जनाएको छ ।
कुन प्रदेशमा कसले हालेनन् भोट ?
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा चार जना अनुपस्थित रहे । जसमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमा बिष्टले भोट हालेनन् । त्यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरिया मतदानमा उपस्थित भएनन् ।
कर्णाली प्रदेश
कर्णालीमा राप्रपाका सांसद सन्तोषी शाहीले मतदान गरिनन् । बाँकी स्थानीय तहका ६ जना प्रतिनिधिले मतदान नगरेको निर्वाचन आयोगले जनाएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा पाँच प्रदेश सभा सदस्यले मतदान गरेका छैनन । स्थानीय तहका प्रमुख तथा उपप्रमुख सबैभन्दा बढी ९१ जना मतदानमा सहभागी नभएको आयोगले जनाएको छ ।
बागमती प्रदेश
बागमती प्रदेशमा सबैभन्दा बढी १५ जना प्रदेस सभा सदस्यले मतदान गरेनन् । त्यस्तै स्थानीय तहका पाँच प्रमुखउपप्रमुख निर्वाचन प्रक्रियामा सहभागी भएका छैनन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा दुई जना प्रदेशसभा सदस्य निर्वाचन प्रक्रियामा अनुपस्थित रहे । स्थानीय तहका तीन जना जनप्रतिनिधिले मतदान नगरेको आयोगले जनाएको छ ।
मधेस प्रदेश
मधेस प्रदेशमा एक जना प्रदेशसभा सदस्यले मतदान गरेनन् भने २० जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख उपस्थित नभएको आयोगले जनाएको छ।
कोशी प्रदेश
कोशी प्रदेशमा पाँच प्रदेशसभा सदस्य राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएनन भने १० जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख अनुपस्थित देखिएको छ।





प्रतिकृया दिनुहोस्