संविधान दिवसको विदा डेटिङ जान र बियर खान दिएको होइनः सञ्चारमन्त्री

काठमाडौं भदौ ११(ई-रैवार): सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवसका दिन डेटिङ जान र तास खेलेर रक्सि खानका लागि विदा नदिएको बताएका छन्। बुधबार संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचारप्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन। फाईनल कुरा यही हो, सिधा सिधा। राष्ट्रिय दिवस नै मनाउन दिएको हो।’
उनले सो दिन भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन्। सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागीताको अपेक्षा आफुले गरेको बताए।
उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपुर्ण सहभागीता हुनुपर्नेमा जोड दिए।
उनले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागीता हुने गरी हर्षोल्लासपुर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे।
संविधान दिवस मूल समारोह समिति अन्र्तगत संचारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसिमितिले बुधबार संचारक्षेत्रसंग सम्बन्धीत सबै सरोकारवालाहरुसंग छलफल गरेको हो।





प्रतिकृया दिनुहोस्