November 1, 2026, Sunday
२०८३ कार्तिक १६

नेपाल पिमियर लिग दोस्रो संस्करण : उद्घाटन खेलका सबै टिकट बिक्री

काठमाडौँ : नेपाल पिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् । नेपाल क्रिकेट  संघ (क्यान) ले टिकट खुला गरेको २४ घन्टा नबित्दै पहिलो खेलको सबै टिकट बिक्री भएको हो ।   

नेपाल क्रिकेट  संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले उद्घाटन खेलको सबै टिकट सोल्ड आउट भएको बताए । उनले भने, ‘उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेका छन् । सबै खेलको भने होइन् ।’

क्यानले बिहीबार बेलुका मात्र टिकट खुला गरेको थियो। २४ घन्टा नबित्दै पहिलो खेलको सबै टिकट बिक्री भएको हो । क्यानका अनुसार उद्घाटनका दिन र शनिबारका खेलमा साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार ५०० रुपैयाँ तोकिकेको छ ।  

साताका अन्य दिन (आइतबारदेखि शुक्रबार) हुने खेलमा साधारण टिकट ५०० रुपैयाँमा उपलब्ध हुनेछ भने प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ छ।  

प्लेअफ र फाइनल खेलमा भने टिकटको मूल्य बढाइएको छ। यी महत्वपूर्ण खेलमा साधारण टिकट एक हजार रुपैयाँ प्रिमियम टिकट दुई हजार रुपैयाँमा खरिद गर्नुपर्नेछ ।  

एनपीएल सिजन-२ आउँदो मसिंर १ गतेदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच हुनेछ ।