May 1, 2026, Friday
२०८३ बैशाख १८

गृहमन्त्री र आइजीपीले भेटे जेन-जी घाइते, माग सम्बोधन गर्ने दिए आश्वासन

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालसँगै जेन-जी आन्दोलनका घाइतेहरूसँग भेटवार्ता गरेका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले पदभार सम्हालेकै दिन गृहमन्त्री अर्यालसँगै जेन-जी आन्दोलनका घाइतेहरूसँग भेटवार्ता गरेका हुन्।

गृह मन्त्रालयमा भएको भेटमा उनीहरूले घाइतेहरूको उचित उपचार र माग सम्बोधन गर्ने आश्वासन दिएका छन्। भेटका क्रममा गृहमन्त्री अर्यालले आइजीपी कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सद्भाव र अमनचैन कायम राख्न निर्देशन दिए।

उनले नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था मिलाउन र प्रहरी संगठनको मनोबल उच्च राखेर नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि आग्रह गरे।

जवाफमा, नवनियुक्त प्रहरी प्रमुख कार्कीले सरकारबाट प्राप्त हुने आदेश र निर्देशनको परिधिभित्र रही आफू र आफ्नो संगठन सधैं जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

औपचारिक भेटघाटलगत्तै गृहमन्त्री अर्याल र आइजीपी कार्कीले संयुक्त रूपमा जेन-जी आन्दोलनका क्रममा घाइते भएका दुई प्रतिनिधि र एक अभियन्तासँग मन्त्रालयमै भेट गरेका थिए।

सो क्रममा घाइतेहरूले सरकार र नयाँ प्रहरी प्रमुखसमक्ष आफ्नो उचित उपचार प्रबन्ध मिलाइदिन र जेन-जी आन्दोलनका न्यायोचित मागहरूलाई सम्बोधन गरिदिन आग्रह गरेका थिए।