May 3, 2026, Sunday
२०८३ बैशाख २०

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । प्रधानमन्त्री कार्कीले अन्तरिम मन्त्रिपरिषद्‍मा थप ४ जना मन्त्री थप्न लागेकी हुन् । 

आइतबार डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनुवार र बब्लु गुप्ता मन्त्री बन्दैछन् । बालुवाटार स्रोतका अनुसार गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिइँदैछ ।

त्यस्तै श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारी, सुनारलाई श्रम,रोजगार तथा सामाजिक सुरक्षा र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइन लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

नयाँ मन्त्री बन्न लागेकामध्ये गौतम पूर्वस्वास्थ्य सचिव, श्रेष्ठ सांस्कृतिक अभियन्ता, सुनार दलित अभियन्ता र गुप्ता हन्ड्रेड ग्रुपका संस्थापक हुन् । शनिबार जेन-जी नेताहरूले मन्त्रीका लागि ७ जनाको नाम सिफारिस गरे पनि उनीहरूले दिएको नामबाट गुप्ता मात्र परेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार नयाँ मन्त्रीहरूको शपथ आइतबारै हुनेछ ।

७ असोजमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, जलवायु तथा कृषि विज्ञ मदनप्रसाद परियार र पत्रकार जगदीश खरेल मन्त्री नियुक्त भएका थिए ।

जेन–जी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् । त्यसअघि कार्कीले ३० भदौमा रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृहमन्त्री र कुलमान घिसिङलाई भौतिक पूर्वाधारसहित ऊर्जामन्त्री बनाएकी थिइन् ।