April 29, 2026, Wednesday
२०८३ बैशाख १६

राष्ट्रपति पौडेलले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दललाई बोलाए शीतलनिवासमा

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन्। शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेको स्रोतले जानकारी दिएको हो।

राष्ट्रपति पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल, प्रधानमन्त्री‍, मन्त्रीसँग छलफल गर्ने लागेका हुन।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधि सभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरूबीच पहिलो पटक संवाद हुन लागेको हो।

राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरू छलफलमा सहभागी हुने जनाइएको छ।

निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्दा पनि सरकारले संवाद अगाडि नबढाएको भनेर दलहरूले प्रश्न उठाइरहेका छन्। चुनाव फागुन २१ गते तय छ। 

बिहीबार नै प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपति पौडेलले पनि निर्वाचनबारे चासो राखेका थिए। त्यसका लागि सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्नुपर्ने राष्ट्रपतिको धारणा थियो। 

त्यसपछि प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन दलहरूसँग संवादको पहल गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरेकी थिइन्। सोही अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बस्नेगरी सरकार र विघटित प्रतिनिधि सभामा  रहेका सबै दलहरूलाई छलफलमा बोलाएको स्रोतले जनाएको छ।