एसिया कप २०२५ : भारतसँग पाकिस्तान ६ विकेटले पराजित

काठमाडौं : एसिया कप २०२५ को सुपरफोर अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।
जवाफि ब्याटिङमा उत्रिएको भारतले चार विकेट गुमाउँदै १८.५ ओभरमा १७४ रनसहित लक्ष्य पुरा गरेको हो। भारतका लागि ओपनर ब्याटर अभिषेक शर्माले सर्वाधिक ७४ रनको पारी खेले। उनले ३९ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। अभिषेक र अर्का ओपनर शुभ्मन गिलले पहिलो विकेटका लागि १०५ रनको शतकीय साझेदारी गर्दै पाकिस्तानबाट खेल खोसेका थिए।
पहिलो इनिङमा शुभ्मन गिल, अभिषेक शर्मा, कुलदिप यादव जस्ता महत्वपूर्ण खेलाडीबाट क्याच ड्रप भएको थियो।
दोस्रो इनिङमा ब्याटिङ गरेको भारतका खेलाडी र पाकिस्तानका खेलाडी बीच केही भनाभनको अवस्था पनि मैदानमा देखियो। अभिषेक शर्मा र हरिश रौफ केही भनाभनको अवस्था हुँदा रेफ्रीले नै गएर उनीहरूलाई छुटाउनु परेको थियो।
पहिलो ओभरमा केही क्याच ड्रप भएको भरपाई भारतका ओपनरद्वयले पूरा गरे। कप्तान सूर्यकुमार यादव भने डकआउट भए। सन्जु सानसन १३ रनमा बोल्ड भए। तिलक बर्मा ३० रनमा र हार्दिक पाण्ड्या ७ रनमा अविजित रहे।
पाकिस्तानका लागि बलिङतर्फ हरिश रौफले सर्वाधिक दुई विकेट लिए । उनले पाकिस्तानको बलिङ केही हदसम्म टाइट राख्न खोजे पनि अन्य बलरको भने खासै राम्रो बलिङ देखिएन। अबार अहमद र फहिम अशरफले १-१ विकेट लिए।
यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर ब्याटर सहिबजादा फरहानले सर्वाधिक ५८ रन बनाए । उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले अर्धशतक प्रहार गर्दा उनको सेलिब्रेसन निकै रोमान्चक बनेको थियो। उनले ब्याटलाई गन (बन्दुक) को संज्ञा दिँदै ‘फायरिङ’ पोजिसनमा सेलिब्रेट गरेका थिए।
अन्य ब्याटरमा फकर जमानले १५ रन, सैम अयुबले २१ रन, हुसेन तलातले १० रन, मोहम्मद नवाजले २१ रन बनाउँदा कप्तान सलमान आघा, १७ र फहीम अशरफ २० रनमा अविजित रहे।
१० ओभरमा १ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको पाकिस्तानले मिडल ओभरमा भने ब्याट घुमाउन सकेन। मिडल अर्डरमा ब्याटिङ सुस्त हुँदा पाकिस्तानले सोचे अनुरूपको ब्याटिङ प्रदर्शन गर्न सकेन। १८.४ ओभरमा १५० रनको दुरी पार गरेको पाकिस्तानका लागि फहीम असरफले आठ बलमा एक चौका र दुई छक्का सहित आक्रमक पारी खेले। जसको फलस्वरूप पाकिस्तानले १७१ सम्म स्कोर पुर्यायो।
भारतका लागि बलिङतर्फ शिवम दुबेले २ विकेट लिए। हार्दिक पाण्ड्या र कुलदिप यादवले १-१ विकेट लिए। सुपर फोर अन्तर्गत आज कुनै पनि खेल छैनन्। मंगलबार सुपरफरको तेस्रो खेल पाकिस्तान र श्रीलंकाबिच हुनेछ।





प्रतिकृया दिनुहोस्