जेनजी प्रदर्शनको घटना छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ।
सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन। ‘तर संरचनाबारे टुंगो लाग्न भने बाँकी छ,’ उनले भने।
यस्तै, सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्काे बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो ।
गृह तथा कानुनमन्त्री अर्यालका अनुसार पार्कका लागि स्थान भने ताेकिएकाे छैन । आन्दोलनको कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको सरकारले जनाएको छ ।
बैठकले भदौ २३/२४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। बैठकले मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय समेत गरेको छ।
असोज १ गते शोक दिवस मनाउने बैठकले निर्णय गरेको छ। गृह, कानुन तथा संसदीय मामिला मन्त्री अर्यालका अनुसार दिवसमा सार्वजनिक बिदा दिएर झण्डा झुकाउने निर्णय गरेको गरिएको छ ।
बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
यसको लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए । यस्तै, घाइतेहरूको पनि नि:शुल्क उपचार गर्ने निर्णय भएको उनले बताए।
अन्तरिम सरकार गठन भएपछि प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिमण्डल आज विस्तार गरेकी थिइन्। मन्त्रिमण्डल विस्तार गरेसँगै सोमबार पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।





प्रतिकृया दिनुहोस्