May 3, 2026, Sunday
२०८३ बैशाख २०

अन्तरिम सरकारका तिन मन्त्री छानिए, शपथ ११:३० बजे हुने

काठमाडौं : प्रधानमन्त्री  सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन सदस्य थपेकी छन् । कार्कीले पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी हुन् ।

आन्दोलनकारी जेन–जीसँगको परामर्शपछि उनीहरूको नाम टुंगो लागेको हो । अधिवक्ता अर्याल काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन् । तीनै जनालाई आफ्नो मन्त्रिपरिषद्मा राख्न कार्कीले आवश्यक सिफारिस राष्ट्रपतिसमक्ष पठाइसकेकी छन् ।

तीन नयाँ मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ आज बिहान ११ः३० बजे हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  यस्तै अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्याल चर्चित कानुनविद् हुन् । खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । 

उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।  

जेन–जी आन्दोलनको मागअनुसार पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् । प्रधानमन्त्री बनेको तेस्रो दिनमा उनले केही मन्त्री छानेकी हुन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबार पुगेर पदबहाली गरेकी हुन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनी गरेकाले उनको पदबहाली गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा भएको छ । आगजनीका कारण गृह मन्त्रालयको भवन पनि बस्न नमिल्ने गरी क्षतिग्रस्त छ । गृहलाई पहिला सामान्य प्रशासन मन्त्रालय रहेको भवनमा सारिँदै छ ।

भ्रष्टाचारको विरोधमा जेन–जी आन्दोलन भएकाले प्रधानमन्त्री कार्की तथा जेन–जी युवाले सुशासन कायम राख्न सक्ने तथा अन्तरिम सरकारको जिम्मेवारी तथा चुनौतीलाई सामना गर्न सक्ने व्यक्तिलाई मन्त्री बनाउन चाहेका छन् । पूर्वसैन्य तथा प्रहरीका अधिकारी तथा पूर्वप्रशासकको नाम पनि मन्त्री बन्ने चर्चामा छ । तर, थप कसैका बारे पनि निर्णय भएको छैन ।

प्रधानमन्त्री चयनका लागि विभिन्न नाममा सामाजिक सञ्जाल डिस्कर्डमै जेन–जी समूहले छलफल चलाएको थियो । त्यहाँ भएको भर्चुअल मतदानमा ५० प्रतिशत बढी मत कार्कीको पक्षमा परेको थियो । त्यसपछि जेन–जी समूहले प्रधानमन्त्रीका लागि कार्कीको नाम प्रस्ताव गरेको हो ।