पहाडमा पनि डेंगु जोखिम बढ्दै, बैतडी र दार्चुलामा भेटिए डेंगी संक्रमित

धनगढी : पहाडमा पनि डेंगुको जोखिम बढ्दै गएको छ । बैतडीमा हालसम्म सात जनामा र दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पतालहरुले जनाएका हुन ।
स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । त्येस्तै जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार उपचारका लागि आएका एक जनामा जाँच गर्दा डेंगी संक्रमण पुष्टि भएको हो ।
बैतडीको दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ।
वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार सञ्चालन गरिएको हो ।
यसैबीच, यहाँका स्थानीय तहहरुले पनि डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।
तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिए ।
दार्चुलामा डेंगीको संक्रमण देखिनेमा बाँकेको कोहलपुरका ३९ वर्षीय पुरुष रहेका छन् । चालु आर्थिक वर्षमा दार्चुलामा डेंगी पुष्टि भएको यो पहिलो केस भएको सूचना अधिकारी भट्टले बताए ।
वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी साउन, भदौ र असोजमा डेंगीको संक्रमण देखिने गर्दछ । डेंगी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गरेको उनले बताए ।
डेंगी संक्रमण गर्ने लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिने, पूरै शरीर ढाक्ने कपडा लगाउने र सुत्दा झुल लगाएरमा मात्र सुत्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस्