एक दिनपछि निकालियो बडीमालिकाबाट फर्कँदा लडेकाको शव, मृत्यु भएका व्यक्ति पूर्वमन्त्री ओझाका छोरा

धनगडी स् बडिमालिका दर्शन गरी फर्किने क्रममा भीरबाट लडेका व्यक्तिको शव एक दिनपछि खोँचबाट निकालिएको छ। बाजुराको त्रिवेणी नगरपालिका–९ बिस्नापानी बिहीबार राती ८ बेजे भिरबाट लडेर काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नारायणटारका ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको थियो।
ओझा बडिमालिका मन्दिर दर्शन पश्चात् नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर करिब ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए । घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली र नेपाल प्रहरीको सहितको संयुक्त सुरक्षाफौज उद्धारमा परिचाल भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकबाल हवारीले मृत्यु भएका ओझा पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा रहेको पुष्टि भएको जानकारी दिएका छन् ।
थप मद्दतको लागि आश्रित गुल्म बाजुराबाट २३ गते बिहान विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसमेत त्यसतर्फ पठाइएको थियो । सोही नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार साँझ खोँचबाट शव निकालेको सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका हुन।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी हवारीका अनुसार शव लिन गएको सेनाको हेलिकप्टर घटनास्थलमा पुग्न सकेको छैन। ‘हेली बाजुरामै छ । तर शव भएको ठाउँसम्म पुग्न सक्दैनौं भनेका छन्। समथल ठाउँमा ल्याइदिनुपर्यो भनेका छन्,’ उनले भने।
समथल ठाउँमा पुर्याउन पनि बाटोको समस्या रहेको उनले जानकारी दिए। ‘बाटो अफ्ठ्यारो छ। समतल ठाउँमा पुर्याउन पनि समय लाग्न सक्छ,’ उनले बताए।



प्रतिकृया दिनुहोस्