September 18, 2025, Thursday
२०८२ आश्विन २

सुदूरपश्चिम प्रदेशमा ३ वर्षमा ५७९ महिला बलात्कृत, कुन जिल्लामा कति ?

डोटी : विगत तीन वर्षमा सुदूरपश्चिममा पाँच सय ७९ महिला जबरजस्ती करणीमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (०८१/०८२) मा एक सय ८४ महिला बलत्कृत भएका छन् । यस्तै आर्थिक वर्ष ०८०/०८१ मा दुई सय चार र ०७९/०८० मा एक सय एक सय ९१ जना बलत्कृत भएका छन् ।

प्रहरीका अनुसार कैलाली जिल्लामा मात्रै दुई सय ६१ जबरजस्ती करणीका घटना भएका हुन् । जिल्ला गत आर्थिक वर्षमा कैलालीमा ८९ जबरजस्तीका घटना भएका थिए । यस्तै, आर्थिक वर्ष ०८०/०८१ मा ८३ र ०८१/०८२ मा ८९ घटनाहरु भएका छन् ।

कञ्चनपुरमा तीन वर्षको अवधिमा एक सय १६ घटना भएका छन् । यस जिल्लामा गत आर्थिक वर्षमा ३५ बलात्कारका घटना भएका छन् । यस्तै, आर्थिक वर्ष ०७९/०८० मा ४० र ०८०/०८१ मा ४१ घटना भएको प्रदेश प्रहरी कार्यालयले उपलव्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

तीन वर्षको अवधीमा सुदूरपश्चिममा सात पहाडी जिल्लाहरुमध्ये बैतडीमा सवैभन्दा बढी बलात्कारका घटनाहरु भएका छन् । यस जिल्लामा यो अवधीमा ४५ महिला बलत्कृत भएको प्रहरीको तथ्याङ्क छ । बैतडीमा ०७९/०८० मा १४, ०८०/०८१ मा २२ र ०८१/०८२ मा नौ घटना भएका छन् ।

यस अवधिमा बझाङमा ३३ बलात्कारका घटनाहरु भएका छन् । आर्थिक वर्ष ०७९/०८० मा १०, ०८०/०८१ मा ११ र ०८१/०८२ मा १२ बलात्कारका घटनाहरु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, बाजुरा जिल्लामा आर्थिक वर्ष ०७९/०८० मा ११, ०८०/०८१ मा १० र ०८१/०८२ मा १० गरी तीन वर्षको अवधीमा ३१ घटनाहरु भएका छन् ।

प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अछाममा आर्थिक वर्ष ०७९/०८० मा नौ, ०८०/०८१ मा ११ र ०८१/०८२ मा ८ गरी २९ बलात्कारका घटनाहरु भएका छन् । डोटीमा यस अवधिमा बलात्कारका २५ घटना भएका छन् । आर्थिक वर्ष ०७९/०८० मा आठ, ०८०/०८१ मा आठ र ०८१/०८२ मा नौ बलात्कारका घटना भएका छन् ।

डडेल्धुरामा आर्थिक वर्ष ०७९/०८० मा तीन, ०८०/०८१ मा १० र ०८१/०८२ मा आठ गरी २१ घटनाहरु भएका छन् ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाहरुमध्ये तीन बर्षको अवधीमा दार्चुला जिल्लामा सवैभन्दा कम १८ घटना भएका छन् । प्रहरीका अनुसार यस जिल्लामा आर्थिक वर्ष ०७९/०८० मा सात, ०८०/०८१ मा सात र ०८१/०८२ मा चार घटनाहरु भएका छन् ।

प्रहरीको तथ्याङ्क हेर्दा विगत दुई वर्षको तुलनामा गत आर्थिक वर्षमा बलात्कारका घटनामा थोरै कमी आएको देखिएको भएपनि घटनाको संख्या हेर्दा डरलाग्दो अवस्था छ ।

नेपाल प्रेसबाट