आदर्शमा अतिक्रमित जमिन खाली गराएर बन्दैछ भव्य अस्पताल

डोटी । डोटीको आदर्श गाउँपालिकाले सरकारी जमिन अतिक्रमण गरेर बनाइएको घर हटाएर अस्पताल निर्माण थालेको छ । मौवानगरदह स्वास्थ्य चौकीसँगै जोडिएको ग्राम विकास समितिको सरकारी जमिन वर्षौदेखि केही व्यक्तिहरुको अतिक्रमणमा परेको थियो ।
१५ सैयासहितको अस्पताल निर्माणका लागि पर्याप्त जमिन नभएपछि गाउँपालिकाले ग्राम विकास समितिको अतिक्रमित जमिन आफ्नो स्वामित्वमा ल्याएर अतिक्रमणकारीका ९ घर भत्काएर अस्पताल भवन निर्माण गरेको हो ।
ग्राम विकास समितिको ४ रोपनी ६ आना १ दाम ३ पैसा जमिन अस्पतालको स्वामित्वमा ल्याएर सोही जमिनमा ३० करोडको लगानीमा सुविधासम्पन्न भवनसहितको अस्पताल निर्माण भइरहेको छ । आफूले पनि पटक पटक स्वास्थ्य चौकीको मातहतमा उक्त जग्गा ल्याउन खोजे पनि असफल भएको बताउँदै स्थानीय बयोवृद्ध तथा समाजसेवी प्रेमनाथ ओझाले बताए । पुर्ब जिल्ला विकास समिति डोटीका उपसभापती समेत रहेका ओझाले भने, ‘धेरै समयको मिहिनेतपछि भने गाउँपालिका अध्यक्ष गणेश खड्काको चासोले अतिक्रमित घर हटाएर अस्पतालको स्वामित्वमा ल्याउन सफल भएका हुन् ।’

गाउँपालिकाको १२ करोड र नेपाल सरकारको १८ करोड लगानीमा उक्त भवन आदर्श गाउँपालिका वडा नम्बर २ मौवानगरदहमा निर्माण भइरहेको छ । गाउँमा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका स्थानीय सामान्य उपचारका लागि सिलगढीस्थित जिल्ला अस्पताल तथा दिपायलका निजी हस्पिटलमा धाउनु पर्ने बाध्यता छ । अब भने अधिकांश सेवासहितको अस्पताल निर्माणपछि आदर्शका साथै सायल गाउँपालिकाका नागरिकलाई पनि उपचारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष खडकाले बताए ।
‘सुविधा सम्पन्न भवन निर्माण भएसँगै विशेषज्ञ चिकित्सकको दरबन्दी राखेर सेवा दिने तयारीमा छौँ ।’ अध्यक्ष खडकाले भने, ‘सुविधासम्पन्न भवन निर्माणसँगै आफ्नै पालिकाबाट यहाँका नागरिकले स्वास्थ्य सेवा लिन पाउने छन् । उनले भने,‘गाउँमै अस्पताल निर्माण हुनु आदर्शबासीका लागि गौरवको कुरा हो, यहीँबाट हामीले सेवा दिएमा सामान्य शल्यक्रिया तथा सुत्केरी हुन पनि दिपायल तथा सिलगढी धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।’
सुविधासम्पन्न अस्पताल निर्माण हुन थालेपछि यहाँका स्थानीय हर्षित भएको स्थानीय युवा नेता गोविन्द खडकाले बताए । उनले भने, ‘गाउँमा सुविधासम्पन्न अस्पताल नहुँदा सामान्य विरामी हुँदा पनि बाहिर जानुपर्ने बाध्यता छ, अब भने सुविधासम्पन्न भवनबाटै विशेषज्ञसहितको सेवा पाउने भएपछि हामी खुसी छौँ ।’
अहिले आदर्श गाउँपालिकामा स्वास्थ्य चौकीबाट स्थानीयले स्वास्थ्य सेवा लिइरहेका छन् । अस्पताल भवनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी (रोकाया) ले बताइन् । उनले भनिन्,‘अस्पतालमा चाहिने सामग्रीहरुका लागि भने विभिन्न दातृ निकायसँग छलफल चलिरहेको छ ।’





प्रतिकृया दिनुहोस्