January 15, 2026, Thursday
२०८२ माघ २

आइपिएलमा लखनउको पहिलो जित, आज चेन्नई र बेंगलुरु खेल्दै

हैदराबाद । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लखनउ सुपर जायन्ट्सले पहिलो जित हात पारेको छ । लखनउले सनराइर्जस हैदराबादलाई ६ विकेटले परजित गर्यो ।

सनराइजर्स हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउ सुपर जायन्ट्सले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । धेरैको अनुमान थियो, सनराइजर्स हैदराबादले बिहीबार आईपीएल क्रिकेटमा ३ सय रनको स्कोर छुने छ ।

त्यसमा केही तर्कहरू थिए । पहिलो, हैदराबादले पछिल्लो खेलमा २८६–६ को स्कोर बनाएको थियो, जुन आईपीएलकै दोस्रो उच्च स्कोर थियो । दोस्रो, लखनउ आफ्नो केही पहिलो रोजाइका तीब्र गतिका बलरविना खेलिरहेको थियो । ३ सय रनलाई बिर्सौं । टस हारेपछि ब्याटिङमा निम्त्याइएको हैदराबादले २ सय रन पनि बनाउन सकेन ।

लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे । दोस्रो विकेटका लागि मिचेल मार्शसँग पुरनले १ सय १६ रनको शतकीय साझेदारी गरे । मार्शले ३१ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए ।

कप्तान ऋषभ पन्त १५ बलमा १५ रनमा आउट हुँदा अब्बदुल समाद ८ बलमा २ चौका र २ छक्काको सहयोगमा २२ रनमा अविजित रहे । आयुष बदोनी ६ रनमा आउट हुँदा डेबिड मिलर १३ रनमा अविजित रहे ।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान राजिव गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्यो ।

हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन जोडे । उनले २८ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे । अनिकेत बर्मा १३ बलमा ५ छक्काको सहयोगमा ३६ रन जोड्दै आउट भए ।

नितिश कुमार रेड्डि २८ बलमा ३२, हेनरिक क्लासेन १७ बलमा २६ तथा अभिषेक शर्मा ६ रनमा आउट भए । पहिलो खेलमा राजस्थान रोयल्सविरुद्ध शतक बनाएका इशान किशन पहिलो बलमा नै आउट भए । कप्तान कमिन्स ४ बलमा ३ छक्काको सहयोगमा १८ रन जोड्दै आउट भए ।

लखनउको लागि शार्दुल ठाकुरले ४, आवेश खान, दिग्वेश राठी, रवि बिष्नोई र प्रिन्स यादवको नाममा समान १ विकेट गरे । लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो।

आज चेन्नई र बेंगलुरु खेल्दै

आज रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबिच खेल हुँदैछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ। दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए।

बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई त चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो थियो । सन् २००८ मा भएको आइपिएलको पहिलो संस्करणमा बाहेक बेंगलरुले चेपकमा कुनै खेल जितेको छैन।

चेन्नई र बेंगलुरुबीच हालसम्म ३३ खेल भएको छ । जसमा २१ पटक चेन्नइ र ११ पटक बेंगलुरु विजयी‌ भएको थियो । १ खेल विना नतिजा कै सकिएको थियो ।

चेपकमा बेंगलुरुले खेल जित्दा कप्तान राहुल द्रविड थिए । त्यो खेलमा राहुलले ३९ बलमा ४७ रनको इनिङ्स खेलेका थिए ।

बेंगलुरुका लागि अनिल कुम्बले ३, डेल स्टेनले २ र प्रवीण कुमारको उत्कृष्ट प्रदर्शनपछि चेन्नईलाई १४ रनले हराएको थियो ।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी र विराट कोहलीले आज एकअर्काको सामना गर्दैछन्‌। आ-आफ्नो टोलीलाई नेतृत्व समेत गरिसकेका धोनी चेन्नईका पनि सफल कप्तान हुन् । कोहलीले बेंगलुरुबाहेक अन्तबाट आइपिएल खेलका छैनन्।