August 16, 2026, Sunday
२०८३ श्रावण ३१

कांग्रेस इतर समूहको राष्ट्रिय भेला पाँचबुँदे प्रस्ताव पारित गर्दै सकियो

काठमाडौँ : नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला पाँचबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भेलाले पार्टीको आगामी १५औँ महाधिवेशन, राष्ट्रिय एकता तथा मेलमिलाप, सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने, संविधान संशोधन तथा महाधिवेशनसम्म पार्टीका गतिविधि सञ्चालनलगायत विषयमा प्रस्ताव पारित गरेको हो।

भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टी एकताबद्ध हुने विश्वाससमेत भेलाले व्यक्त गरेको छ।

महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने निर्णय गरिएको छ।

त्यस्तै, भेलाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ सालमा अवलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई पुनः स्मरण गरेको छ। वर्तमान असहज परिस्थितिमा राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ बनाउन सबै लोकतन्त्रवादी शक्तिसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय भेलाले गरेको छ।

भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्तावसमेत पारित गरेको छ। हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्म तथा संस्कृतिको संरक्षण गर्ने दायित्व आत्मसात् गर्दै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

यस्तै, वर्तमान संविधानमा देखिएका कतिपय अस्पष्टता र जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संशोधनका लागि कांग्रेसले पहल गर्ने भएको छ। संविधानमा व्यवस्था भएअनुसार सबै पक्षसँग संवाद गरी विद्यमान समस्याको राजनीतिक निकास खोज्ने प्रस्ताव पनि भेलाले पारित गरेको छ।

  • यस्तो छ भेलाबाट पारित ५ बुँदे प्रस्ताव
dr-mahat3_page-0001