January 15, 2026, Thursday
२०८२ माघ २

रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, लिइन् शपथ

नयाँ दिल्ली । शालीमार बागबाट भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ता दिल्लीको नवौँ मुख्यमन्त्री बनेकी छन् । गुप्ताले बिहीबार रामलीला मैदानमा मुख्यमन्त्री पदको शपथ लिएकी हुन् ।

दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन् । बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमित शाहलगायत भाजपा शासित राज्यका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरू उपस्थित थिए । गुप्तासँगै ६ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।

यसमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई हराउने प्रवेश वर्मा, आशीष सूद, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह सामेल छन् ।

शपथअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुप्ताले भनिन्, ‘यो निकै ठुलो जिम्मेवारी हो । ममाथि भरोसा देखाउनुभएकोमा म प्रधानमन्त्री मोदी र पार्टी हाइकमानलाई धन्यवाद दिन चाहन्छु । मैले दिल्लीको मुख्यमन्त्री बन्छु भनेर कहिले पनि सोचेको थिइनँ । म शीशमहलमा बस्ने छुइनँ ।’

दिल्लीको मुख्यमन्त्रीको आधिकारिक आवासलाई भाजपाले शीशमहलको नाम दिएको थियो । अरविन्द केजरीवालले यसलाई निर्माण गरेका थिए । केजरीवालले यो बनाउन करोडौँ रुपैयाँ खर्च गरेको आरोप भाजापाको छ । भाजपाले यसलाई चुनावी मुद्दासमेत बनाएको थियो ।

मुख्यमन्त्री गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।

गुप्ता सहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए ।