महिला एसिया कप २०२४ : पहिलो पटक भारतलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कप

काठमाडौं । श्रीलंकाले एसिसी महिला एसिया कप २०२४ को उपाधि जितेको छ। साविक विजेता भारतलाई पराजित गर्दै आयोजक श्रीलंका पहिलो पटक एसिसी एसिया कपको च्याम्पियन बनेको हो।
श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाइन् । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाइन् । उनले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् ।
कप्तान अथापाथ्थु र समराविक्रमाले दोस्रो विकेटका लागि ६३ बलमा ८७ रनको साझेदारी गर्दै टोलीलाई च्याम्पियन बनाउने आधार तयार गरे ।
कबिसा दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाइन् । तेस्रो विकेटका लागि समराविक्रमा र दिलहारीले ४० बलमा अविजित ६३ रनको विजयी साझेदारी गरेका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् ।
रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् ।
श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् ।
भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक च्याम्पियन बनेको हो । पराजित भारत सात पटकको च्याम्पियन हो।
महिला एसिया कपको इतिहासमा भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि सन् २०१८ को एसिया कपको फाइनलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।
लेखकको सम्वन्धमा