वर्षाका कारण नेपाली क्रिकेट टोली फ्लोरिडामै रोकियो

फ्लोरिडा । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान लागेको नेपाली टोली फ्लोरिडामै रोकिएको छ। विश्वकपको समूह चरणको आफ्ना अन्तिम दुईका लागि सेन्ट भिन्सेन्ट जानुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको फ्लोरिडाको खराब मौसमका कारण यही रोकिएको हो।
फ्लोरिडाबाट नेपाली टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट जाने तालिका रहेपनि लगातारको वर्षाका कारण नेपाली टोलीको उडान रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) का सदस्य तथा टोलीका व्यवस्थापक प्रदीप मजगैयाँले जानकारी दिए । बिहीबार कति बेला उडान हुने अहिले केही जानकारी नभएको मजगैयाँले बताए।
लगातारको वर्षाकै कारण नेपाल र श्रीलंकाबीच मंगलबार फ्लोरिडामा हुने खेल रद्द भएको थियो। सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन १४ र नेपाल र बंगलादेशबीच जुन १६ मा खेल हुने तालिका छ।
आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। नेदरल्याण्ड्स र बंगलादेशको समान २ अंक तथा नेपाल र श्रीलंकाको समान १ अंक छ।
फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको नेपाली टोलीले अमेरिकाको स्थानीय समयअनुसार साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरेको थियो।
फ्लोरिडामा बुधबार दिनभर पानी परेको थियो। दक्षिण फ्लोरिडाका केही भागमा बुधबार बाढी समेत आएको थियो। बारम्बार मुसलधारे वर्षा हुँदा सडकहरू पानीले भरिएका छन्।
अमेरिकाको राष्ट्रिय मौसम सेवाले ब्रोवार्ड, मायामी-डेड, कोलियर र हेन्ड्री काउन्टीका केही भागहरूमा बिहीबार बिहानसम्म बाढीको चेतावनी दिएको छ। यस्तै बुधबार भने साँझ बाढीले जोखिम हुन सक्ने चेतावनी दिएको छ।
‘धेरै क्षेत्रहरू पानीले डुबानमा परेका छन्, कार रोकिएका छन्’ मौसम सेवाले भनेको छ, ‘सम्भव भएमा सडकबाट टाढा रहनुहोस्।’
लेखकको सम्वन्धमा