आईपीएल : लगातार ६ खेल जित्दै बैंगलुरु प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो

बैंगलुरु । रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा आफ्नो स्थान बनाउन सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार राति भएको खेलमा बैंगलुरुले चेन्नईलाई २७ रनले हराउँदै शीर्ष चारमा स्थान पक्का गरेको हो ।
पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै अंक तालिकाको चौथो स्थानमा रहन सफल भयो ।
आरसीबीले २ सय १९ रनको लक्ष्य पस्किए पनि चेन्नाईका लागि नेट रनरेटका आधारमा अघि रहि प्लेअफमा पुग्न २ सय १ रन पर्याप्त रहेको थियो । आरसीबीलाई भने चेन्नाई भन्दा माथि रहि प्लेअफमा पुग्न १८ रनको जित आवश्यक थियो ।
चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि ओपनर रचिन्ल रवीन्द्रले ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाए । रवीन्द्र जडेजा २२ बलमा ४२ रन बनाएर अविजित रहेपनि टोलीलाई पार लगाउन भने सकेनन् । अजिङ्क्या राहानेले ३३ रन बनाए भने महेन्द्र सिंह धोनीले २५ रन बनाएका थिए ।
आरसीबीको जितमा यश दयालले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लाेकी फर्गुसन र क्यामरन ग्रीनले १-१ विकेट लिए ।
त्यसअघि आरसीबीले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोड्यो । आरसीबीका लागि कप्तान फ्याफ डु प्लेसिसले ३९ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रन जोडे ।
विराट कोहलीले २९ बलमा ३ चौका र ४ छक्का सहित ४७ रन बनाए । रजत पतिडरले २३ बलमा ४१ रन बनाए । क्यामरन ग्रीन १७ बलमा ३८ रन बनाएर नटआउट । ग्लेन म्याक्सवेलले १६ तथा दिनेश कार्तिकले १४ रन बनाए ।
चेन्नाईका लागि शार्दुल ठाकुरले २ तथा तुशार देशपाण्डे र मिचेल स्यान्टनरले १-१ विकेट लिए ।
१४ खेलपछि बैंगलुरु र चेन्नईको समान १४ अङ्क भए पनि बैंगलुरुको नेट रन रेट ०.४५९ पुगेको छ भने चेन्नईको नेट रनरेट ०.३९२ मा सीमित बन्यो । बैंगलुरुसँगै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादसँग प्लेअफमा पुगिसकेका छन् ।
राउण्ड रोबिन चरणमा कोलकत्ता १ खेल बाँकी रहँदै १९ अंक सहित शीर्ष हुने पक्का भइसकेको छ । दोस्रो स्थानका लागि १६ अंक रहेको राजस्थान रोयल्स र १५ अंक रहेको सनराईजर्स हैदराबाद प्रयासरत छन् ।
आज हैदराबादले पञ्जाबको र राजस्थानले कोलकत्ताको सामना गर्नेछ । आइपिएलमा पहिलो क्वालिफायर १ मा फाइनल प्रवेशका लागि कोलकत्ता नाईट राइडर्स र दोस्रो स्थानमा रहने टोली भिड्ने छन् ।
मंगलबार एलिमिनेटरमा आरसीबी र तेस्रो स्थानमा रहने टोली भिड्ने छन् । सो खेलको विजेताले क्वालिफायर १ मा हार बेहोर्ने टोली विरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ ।





लेखकको सम्वन्धमा