January 15, 2026, Thursday
२०८२ माघ २

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

ताइपेइ । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो।

ताइवानको धेरै पहाडी भित्री भागमा, सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले भूकम्पले ठुलो भूस्खलन भएकाे देखाउँछ। भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन भने बाँकी छ । यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ । सरकारले राहत र क्षति न्यूनीकरण गर्न सैन्य फौज पठाइएको मन्त्रालयले जनाएको छ । 

ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका प्रवक्ताका अनुसार यो २५ वर्षयताकै ताइवानमा आएको सबैभन्दा ठुलो भूकम्प हो । अहिलेपनि पराकम्पहरू गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

अहिलेसम्म मानिसहरूको मृत्यु भएको रिपोर्ट नआएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। तर घरहरूमा मानिसहरू च्यापिएको हुनसक्ने बताइएको छ। भूकम्पका कारण राजधानी ताइपेइमा समेत विद्युत आपूर्ति अवरूद्ध भएको छ।

त्यस्तै छिमेकी मुलुकहरू जापान र फिलिपिन्समा भूकम्पको चेतावनी दिइएको छ। चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावामा सुनामी आउने चेतावनी दिइएकाे बीबीसीले जनाएको छ ।