April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

भारतको लोकसभा चुनावको मिति घोषणा, सात चरणमा मतदान हुने

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ। लोकसभा चुनाव सात चरणमा हुनेछ। 

यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ । मार्च २० मा पहिलो सूचना जारी हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ । 

दोस्रो चरणअन्तर्गत मार्च २८ गते अधिसूचना जारी हुनेछ । भोटिङ अप्रिल २६ मा हुनेछ।

तेस्रो चरणमा ७ मे, चौथो चरणमा १३ मे र पाँचौँ चरणमा २० मेमा मतदान हुनेछ । छैटौँ चरणमा मे २५ मा मतदान हुँदैछ। जुन १ मा सातौँ चरणमा मतदान हुँदैछ ।

तीन चरणमा २६ विधानसभा सीटहरूमा उपचुनाव हुनेछ। यो निर्वाचन पनि आम निर्वाचनसँगै हुनेछ ।

de2354ee-1e35-45f4-9f4a-bc81d858c5d5

लोकसभा चुनावमा ९७ करोड दर्ता मतदाता छन्। १०.५ लाख मतदान केन्द्र छन् । १.५ करोड चुनावी कर्मचारी रहनेछन् । 

निर्वाचनमा ५५ लाख ईभीएम मेसिन प्रयोग गरिने भएको छ । महिला मतदाताको संख्या ४७ करोड नजिक छ । २०२४ को चुनावमा करिब १ करोड ८२ लाख नयाँ मतदाताले भोट हाल्नेछन् ।

आयुक्त राजीव कुमारका अनुसार ५४३ सिटका लागि सात चरणमा मतदान हुनेछ। पहिलो चरणको मतदान अप्रिल १९ र अन्तिम चरणको मतदान जुन १ मा हुनेछ भने मतगणना जुन ४ मा हुनेछ। मतदानदेखि नतिजा आउँदासम्म ४६ दिन लाग्नेछ।

पहिलो चरण २१ राज्यमा १०२ सिटका लागि चुनाव हुनेछ। दोस्रो चरण १३ राज्यमा ८९ सिटका लागि, तेस्रो चरण १२ राज्यमा ९४ सिटका लागि, चौथो चरण १० राज्यमा ९६ सिटका लागि, पाँचौँ चरण आठ राज्यमा ४९ सिटका लागि, छैटौँ चरण सात राज्यमा ५७ सिटका लागि र सातौँ चरण आठ राज्यमा ५७ सिटका लागि चुनाव हुने छ।

८५ वर्षभन्दा माथिका तथा अपांगता भएका मतदातालाई घरमै बसेर मतदान गर्नका लागि फारम पठाइनेछ। उनीहरू बुथमा आएको खण्डमा आयोगका स्वयंसेवकले सहयोग गर्ने व्यवस्था मिलाइएको जनाइको छ।

आयोगका अनुसार निर्वाचनका बेला बुथमा पर्चा तथा पमप्लेट प्रयोग गर्न पाइने छैन। चुनावी काममा करार कर्मचारी या स्वयंसेवक खटाउन पाइने छैन। मतदातालाई उम्मेदवारका बारेमा एपमार्फत जानकारी गराइने छ।

लोकसभाको निर्वाचनमार्फत भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि सत्तामा आउने प्रयासमा छन्। कांग्रेस आईलगायतका दलले अहिलेसम्म प्रधानमन्त्रीका रूपमा कसैलाई अघि सारेका छैनन्।