April 18, 2026, Saturday
२०८३ बैशाख ५

हमास समूहको आक्रमणमा परी मृत्यु भएका विद्यार्थी फुलारा र थापाको शव दिपायल पुगायो

डोटी । हमास समूहको आक्रमणमा परी मृत्यु भएका डोटीका विद्यार्थी राजन फुलारा र पदम थापाको शव दिपायल पुगाएको छ। शनिवार फ्लाई दुवईको जहाजमार्फत नेपाल पुर्‍याएको फुलारा र थापाको शवलाई नेपाली सेनाको जाहाजले आज ल्याएको हो।

शिखर नगरपालिका डोटीका नगर प्रमुख दिर्घ बलायरले आज दिउसो नेपाली सेनाको जाहाजले राजन फुलारा र पदम थापाको शव दिपायल पुगाएको जानकारी दिएका हुन । शव बुझ्नका लागि आफन्तहरुसंगै शिखर नगरपालिकाका नगर प्रमुख बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशवहादुर खड्का डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल प्रहरी प्रमुख बिमानस्थल पुगेका थिए ।

मृतकहरुका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पु¥याउन लगिएको छ । दुवै शवको सोमवार मात्रै दाह संस्कार हुने आफन्तहरुले जानकारी दिएका छन् । थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाह संस्कार हुनेछ ।

डोटी पचनाली-३ का फुलारा र डोटी लामीखाल-८ का पदम थापा सहित धनुषा सापही-६ का आनन्द शाह र सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकारको शव शनिवार फ्लाई दुवईको जहाजमार्फत नेपाल पुर्‍याएको थियो ।

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

हालसम्म बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन छन् ।

केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायल फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।