April 18, 2026, Saturday
२०८३ बैशाख ५

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १ सय ३५ घर भत्किए

चैनपुर । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।

भूकम्प पीडितहरुले खुला आकासमा रात बिताएका छन् । राति र आज बिहान पनि साना धक्का गइरहेकाले उनीहरु घर फर्किन सकेका छैनन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पपछि कोही पनि घरमा बस्न नसकेको बताए । ‘घर फर्किने अवस्था छैन, सबैले खुला स्थानमा रात बिताउनुभयो,’ उनले भने ।

कोहीले बुधबार नेपाल रेडक्रसले उपलब्ध गराएको ४० वटा त्रिपाल मुनि र कोहीले आफ्नै व्यवस्था गरेर रात काटेका छन् ।मंगलबार दिउँसो २ः४० बजे बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १२ पटकसम्म भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको विवरणमा उल्लेख छ । ती कम्पनहरु ५ देखि ४ म्याग्निच्युडसम्मका छन् ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

बझाङमा भूकम्पपछि लगातार परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसयता १६ घण्टाको बीचमा ४ म्याग्निच्युडभन्दा माथिका १२ वटा परकम्प गइसकेको भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए । “३ म्याग्निच्युडभन्दा माथिका एक सयभन्दा धेरै परकम्प गइसकेको छ,” उनले भने, “४.३ म्याग्निच्युडको परकम्प बिहान ५ः४३ बजे चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको छ ।”

ठूलो भूकम्प गइसकेपछि ४/५ म्याग्निच्युडको परकम्प जानु स्वभाविक रहेको भूकम्पविद् तिमिल्सिना बताउँछन् । “दुई/तीन दिनसम्म परकम्प जानु सामान्य हो । त्यसपछि के हुन्छ अध्ययन गरेपछि मात्रै ट्रेन्ड एनलाइसिस् गर्न सकिन्छ,” उनी भन्छन्, “६.३ म्याग्निच्युडको भूकम्प गइसकेपछि त्योभन्दा ठूलो अर्को भूकम्प फेरि जान सक्छ अथवा के हुन्छ अहिले नै भन्न सकिन्न ।”