April 18, 2026, Saturday
२०८३ बैशाख ५

बैतडीमा कार्यालय सहयोगीका बुवाछोरा मिलेर वडाध्यक्षमाथि गरे कुटपिट

बैतडी। कार्यालय सहयोगीका बुवाछोरा मिलेर बैतडीमा एक वडाध्यक्षमाथि कुटपिट गरेका छन् । मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरद सिंह नेगीमाथि सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी जनार्दन नेगीका बुवाछोरा मिलेर कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार राति ९ बजेको समयमा वडा नं १ को जेरो प्‍वाइन्ट बजार रहेको एक पसलमा वडाअध्यक्ष नेगीमाथि सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारश नेगीले कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता,प्रहरी निरीक्षक यागेश खत्रीले कुटपिट गर्ने दुबै बुवाछोरालाई नियन्त्रणमा लिएको र वडा अध्यक्ष नेगीलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको जानकारी दिए ।

वडा अध्यक्ष नेगीका ४ वटा दाँत भाचिएका छन् । कुटपिटमा सामान जोख्ने ढक प्रयोग गरेको खुलेको छ। वडाकै विषयमा विवादमा झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।