April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

एसईई परीक्षा आजदेखि सुरु, व्यवस्थित र भयरहित बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई) परीक्षा आजदेखि सुरु भएको छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी ४ लाख ८४ हजार २ सय २७ विद्यार्थी सहभागी हुने भएका हुन ।

बिहान ८ बजेदेखि सुरु भएको परीक्षा चैत २९ गते सकिनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो ।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् । कोसीमा ३ सय ७८, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र तय गरिएको छ ।

परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५५ छात्रा सहभागी हुँदैछन् । परीक्षामा ५० जना दृष्टिविहीन परीक्षार्थीका लागि उनीहरूको आफ्नै विद्यालयमा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ ।

कठिनाइस्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिनेछ । प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको नियन्त्रक श्रेष्ठले जानकारी दिए। बोर्डले परीक्षामा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने जनाएको छ । परीक्षामा बाहिरी घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने जनाइएको छ ।

एसईईलाई व्यवस्थित र भयरहित बनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन्।  शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अपिल गरेका हुन्। 

उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका छन्। परीक्षालाई मर्यादित बनाउन ती सबैलाई भूमिका खेल्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्।