January 15, 2026, Thursday
२०८२ माघ २

टर्कीमा फेरी ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गयो : ३ जनाको मृत्यु, २९४ जना घाइते

काठमाडौँ । टर्कीमा फेरी ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि टर्कीमा फेरी शक्तिशाली भूकम्प गएको हो ।

दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर सोमबार ६‌.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी सैयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ ।

टर्कीका अधिकारीहरुले सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

टर्की र सिरियाका अधिकारीका अनुसार दुई साताअघि गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।