November 3, 2024, Sunday
१८ कार्तिक २०८१, आईतवार

यती एअरलाइन्स विमान दुर्घटना : ६९ जना मृत घोषित

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान दुर्घटनामा ६९ जना मृत घोषित भएको छ । आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९ एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एक/एकजना अर्जेन्टिनी, अष्ट्रेलियन, आइरिस र फ्रान्सेली नागरिक रहेका एअरलाइन्सले जानकारी गराएको छ ।

आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए ।

“खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरु खोजी गर्नेछौँ,” प्रमुख केसीले भने ।दुर्घटनामा परी मृत्यु भएका ६९ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ ।

“अब बेपत्ता ३ जनाको पनि खोजीमा लागेका छौँ । राति नभेटिए सोमबार पनि खोजी कार्यलाई तीव्र पार्छौं,” उनले भने । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् । नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् । प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको संख्यामा खटिएका छन् । काठमाडौंबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको जानकारी दिए । उनका अनुसार जहाजमा रहेका ३ जना अझै बेपत्ता छन् । अहिलेसम्म ६९ जनाको शव फेला परेको छ । उनीहरूको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।

“सबै जनाको शव आज नै निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो,” प्रजिअ केसीले भने । मृतकका परिवारलाई सोमबार शव बुझाउने तयारी रहेको पनि प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।