April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रधानमन्त्री देउवाले गृह जिल्लामा ११ चुनावी आमसभामा सम्बोधन गरे

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर ११ वटा चुनावी आमसभालाई सम्बोधन गरेका छन् । यसअघि उनले गृह जिल्लामा यति धेरै कार्यक्रमलाई सम्बोधन गरेका थिएनन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उनी ६ पटक निर्वाचित भएका छन् । अहिले उनी सातौँ पटक उम्मेदवार बनेका हुन। उम्मेदवार भएदेखि यति धेरै चुनावी सभालाई सम्बोधन गरेको पहिलो पटक भएको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए ।

चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले २०३६ तिर डडेल्धुरालगायत सुदूरपश्चिमका अधिकांश जिल्लाका वस्तिमा पुगी पञ्चायती व्यवस्थाविरुद्ध अभियान चलाएका थिए ।

त्यसबेला सडक, सञ्चार, बिजुली नहुँदा समस्या भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले भने, “२०३६ सालमा तीन दिन हिँडेर धनगढी पुगेका थियौँ, त्यहाँबाट भारतको बाटो रेल चढेर काठमाडौँ गएका हौं ।”

मङ्सिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन उनले मतदातासँग आग्रह गरे । निर्वाचन आयोगले कात्तिक १७ गते देखि मङ्सिर १ गतेसम्म प्रचारप्रसार गर्ने समय तोकेपछि १७ गते नै देउवा गृहजिल्ला डडेल्धुरा पुगेर बाम लोकतान्त्रिक गठबन्धनको आमसभालाई सम्बोधन गरेर प्रचारप्रसारको शुभारम्भ गरेका थिए ।

रोजगारीका अवसर सिर्जना गर्न पश्चिम सेती र एसआर–६ (सानो सेती) १२ सय मेगावाट बिजुली उत्पादनका लागि भारतीय कम्पनीसँग सम्झौता भई अध्ययनको काम भइरहेको उहाँनले जानकारी दिए । पञ्चेश्वर परियोजना निर्माणको काम अघि बढाउन भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको पनि प्रधानमन्त्री देउवाले जानकारी गराएका छन् ।

यससँगै उनले महाकाली कोरिडोरको काम द्रुत गतिमा हुने, सेती लोकमार्गको काम अघि बढाइने, सिँचाई, खानेपानी, बिधुतको समस्या रहेको गाउँबस्तीमा समस्या समाधान गरिने बताए । सभापति देउवा यस पटकको निर्वाचनमा ६ दिन डडेल्धुरा बसेर ११ वटा आमसभालाई सम्बोधन गरेका छन्।

प्रधानमन्त्री देउवाले बिहीबार अजयमेरु गाउँपालिका –१ खतेडामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचारप्रसारको कामलाई विश्राम दिएको सचिव चटौतले बताए ।

यस पटक प्रधानमन्त्री देउवाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ स्थित बागबजारको बसपार्क, गृह पालिका गन्यापधुरा–२ को बडाल, ३ को सकायल, नवदुर्गा गाउँपालिका–४ को बेलापुर, भागेश्वर गाउँपालिका– २ को रुपाल, ३ को बोगडा, अजयमेरु गाउँपालिका– ३ को भद्रपुर, ५ को देवल, १ को खतेडा, आलिताल गाउँपालिका– ३ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गामा आयोजित आमसभालाई सम्बोधन गरेका छन् ।