April 19, 2026, Sunday
२०८३ बैशाख ६

एसपीपी साझेदारीका लागि सेनाले ओली प्रधानमन्त्री हुँदै पठाएको पत्र सार्वजनिक

काठमाडौं : स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपीं) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।

सन् २०१५ को अक्टोबर २७ मा (२०७२ कात्तिक १० गते) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको करिब १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो । ओली २०७२ असोज २५ गते पहिलो कार्यकालका लागी प्रधानमन्त्री भएका थिए ।

प्रतिनिधिसभा बैठकमा एसपीपीको विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रश्न उठाएपछि सांसदहरूबीच आरोप–प्रत्यारोप चलेको थियो । त्यसक्रममा एमाले सांसदले नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाका पालामा सेनाले पत्र पठाएको आरोप लगाएका थिए । तर, पत्र सार्वजनिक भएपछि ओली प्रधानमन्त्री बनिसकेपछि पत्र गएको खुलेको छ ।

नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । यसैबीच, एसपीपीका विषयमा नेपाली सेनाले जारी गरेको विज्ञप्ति पनि गलत सावित भएको छ । सेनाले एसपीपीमा संलग्न हुनका लागि आफूले पत्राचार नगरेको र कहिल्यै नगर्ने पनि उल्लेख थियो । तर, यही पत्रबाट उसले गरेको खण्डन गलत सावित भएको छ ।

बुधबार अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रष्टीकरण दिएको थियो ।

बिहीबार प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार एसपीपीमा सहभागी नभएको र नहुने बताएका थिए । तर एसपीपी सम्झौताका लागि अमेरिकालाई एमाले ओली पहिलो पटक प्रधानमन्त्री भएपछि पत्र पठाएको देखिन्छ ।

उनी सन् २०१५ अगस्ट ११ मा प्रधानमन्त्री भएका थिए । सेनाले अमेरिकालाई पठाएको पत्रमा सोही महिनाको २७ तारिखको मिति छ । ओलीभन्दा अघि काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका थिए ।