April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीको शिखर नगरपालिकाका किसानलाई हाते ट्र्याक्टर वितरण

डोटी : डोटीको शिखर नगरपालिकाका किसान समूहलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले शिखर नगरपालिकाका पाँच वटा कृषक समूहलाई निःशुल्क रूपमा हाते ट्याक्टर वितरण गरेको हो ।

मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था (साइन नेपाल) ले शिखर नगरपालिकाका भागेश्वर किसान समूह, रानीढुङ्गा समूह, तल्लिसैन समूह, कैलपाल समूह र डडिया किसान समूहलाई कृषक समूहलाई निःशुल्क रूपमा हाते ट्याक्टर वितरण गरेको हो ।

साइन नेपालद्वारा सञ्चालित केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत नगरपालिकाको सिफारिसमा किसानको आयआर्जनमा वृद्धि गर्ने र व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिएका हुन ।

ट्र्याक्टर पाएपछि आफूहरुको कामको बोझ घट्ने र आयआर्जनमा वृद्धि हुने भागेश्वर किसान समूहका अध्यक्ष राधिका शाहीले बताईन् । उनले भनिन् “गोरुबाट खेती किसानीको काम गर्दा समय बढी लाग्ने र दुःख पनि बढी थियो, अहिले हाते ट्र्याक्टर पाउँदा किसानलाई कामको बोझमा पनि कमी र छिटोछरितो काम हुने छ ।

”समूहगतमा वितरण गरिएका ट्र्याक्टरको समुदायमा सही सदुपयोग भएमा आवश्यकता अनुसार अझ थप्न सकिने साइन नेपालका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिएका छन् । उक्त संस्थाले जिल्लामा शिक्षा, स्वास्थ्य, पोषण, आयआर्जन, सीपमूलक तालिमलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

साइन नेपालले विगत देखिनै शिक्षा, स्वास्थ्य, पोषण, आयआर्जन, सिपमुलक तालिम लगायतका क्षेत्रमा ठुलो सहयोग गर्दै आएको स्मरण गर्दै नगर प्रमुख जोशीले संस्थाका अध्यक्ष जोशी लगायत संस्था र सहयोगी निकयलाई धन्यवाद ज्ञापन गरे ।

यसैगरी जाडो बढ्दै गएपछि उक्त संस्थाले नगरपालिकाभित्र बसोबास गर्ने विपन्न, एकल महिला तथा वृद्धवृद्धा गरी करिब ३०० जनालाई कम्मल वितरण गरेको छ ।