गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

पोखरा, असार १ (ई-रैवार)
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार छलफल गरी पारित गरिएको हो ।
गण्डकीमा शनिबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेको छ । सोही सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम मंगलबार बिहान छलफल गरी पारित गरिएको हो ।
सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पेश गरेको थियो । नीति कार्यक्रममाथिको छलफलमा सबै दलका सांसदले भाग लिएका थिए ।
सत्ता पक्षका सांसदहरुले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजे पनि कतिपय छुटेकामा बजेटमा समावेश गरेर अगाडी बढ्ने बताए ।
प्रतिपक्षका सांसदहरुले पहिलाका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । छलफलमा उठेका विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जवाफ दिदै नीति तथा कार्यक्रम सरकारले कार्यान्वयनमा लैजाने बताए । उनले सरकार निर्माणका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आगमी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
सांसदले उठाएका प्रश्नमा मुख्यमन्त्री पोखरेलले जवाफ दिएका थिए । उनले खासगरी प्रमुख प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विशेष धन्यवाद दिए । उनले भने, “उहाँको सहयोगबिना यो नीति तथा कार्यक्रम आउन सम्भव थिएन, बजेट निर्माणमा पनि उल्लेख्य सहयोग छ ।”
प्रदेश सरकारले आजै बजेट प्रदेशसभामा प्रस्तुत गर्दै छ । मुख्यमन्त्री पोखरेलले सदनमा आफैँ बजेट प्रस्तुत गर्नेछन् । पोहोर करिब ३४ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष त्योभन्दा केही घटेर बजेट ल्याउने तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस्