बोगटान फुड्सिल गाउँपालिकालाई १३ लाखबढीको स्वास्थ्य सामग्री हस्तान्तरण

डोटी, जेठ १८ (ई-रैवार)
युनाइटेड मिसन टू नेपालको यहाँस्थित कलस्टरले बोगटान फुड्सिल गाउँपालिकालाई १३ लाख २५ हजार ४०३ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकार संस्था युनाइटेड मिसन टू नेपालको यहाँस्थित कलस्टरले बोगटान फुड्सिल गाउँपालिकालाई १३ लाख २५ हजार ४०३ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिकालाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा एन्टिजेन किट २५० थान, सर्जिकल मास्क तीन हजार, ग्लब्स एक हजार, स्यानिटाइजर पाँच लिटर १० थान, १० लिटर ३० थान, एक लिटर ७५ थान, त्यसैगरी थर्मामिटर १२, पिपिई सेट २४, नेबुलाइजर १२, के.एन नाइन्टी फाइब मास्क ४००, हस्पिटल शय्या १२, ४० केजी अक्सिजन १०, अक्सिजन कन्सन्ट्रेटर पाँच लिटरको दुई थान र फेस सिल्ड ३० थान रहेको संस्थाका टोलीनेता विशालबाबु श्रेष्ठले जानकारी दिए।
बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले दोस्रो चरणको कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण तीव्र रुपमा बढिरहेको र उपचार गर्नमा समस्या भइरहेको अवस्थामा उक्त संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेपछि अब गाउँका नागरिकलाई उपचार गर्नमा सहज हुने बताए।
यसैगरी युएमएनले बोगटान फुड्सिलसँगै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तयारी गरिरहेको जनाइएको छ।





प्रतिकृया दिनुहोस्