April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटेली लोकसाहित्य पुरस्कार जोशी र काव्य पुरस्कार बलायरलाई

डोटी मंसिर ८ (ई–रैवार)

नेपाली लेखक संघ डोटीले यसवर्षको ‘प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार’ दिव्यश्वरी जोशी र ‘पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार’ भक्तबहादुर बलायरलाई प्रदान गर्ने भएको छ । संघले एक सूचना सार्वजनिक गर्दै सो पुरस्कारको घोषणा गरेको हो ।

जोशी डोटेली लोकसाहित्यमा अध्ययन, अनुसन्धान गर्दै आएकी छन् । हाल पद्मकन्या क्याम्पसमा उपप्राध्यापक रहेकी उनी डोटीको सदरमूकाम सिलगढीमा जन्मिएकी हुन् । उनले ‘डोटेली उखानको अध्ययन’ भन्ने अनुसन्धानात्मक पुस्तक प्रकाशन गरेकी छन् । यस्तै ‘डोटेली घरगीतः संकलन र विश्लेषण’, ‘अठवालीको अध्ययन’ र ‘ज्यूँती’ प्रकाशोनमुख अनुसन्धानात्मक कृति छन् ।

विभिन्न पत्रपत्रिकामा लामोसमयदेखी उनका थुप्रै अनुसनात्मक लेख प्रकाशित हुँदैआएका छन् । यस्तै पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कारका लागि छनौट भएका बलायर डोटेली भाषालाई काव्यिक स्वरुप दिने अग्रज लेखक हुन् । राजनीतिमा पूर्वमन्त्री समेत रहीसकेका उनको लेखनीमा अब्बल स्थान छ ।

उनको डोटेली भाषामा लेखिएको ‘बेलु’ नामक गीतिकाव्य निकै चर्चित छ । यस्तै डोटेल िभाषामै लेखिएको ‘राईमती’ महाकाव्यले डोटेली भाषासाहित्यको स्थान विश्वजगतमा पु–याएको छ ।

यस्तै ‘प्रतीज्ञा’, ‘खण्डकाव्य, प्रजातन्त्र, दल र डोटीको योगदान’, ‘नेपाली कांग्रेसको संक्षिप्त ईतिहास’ र ‘अनमोल वर्णमाला’ जस्ता ऐतिहासिक कृतिहरु समेत बलायरले प्रकाशनमा ल्याएका छन् । उनका थप तमाम लेखरचना पत्रपत्रिकामा प्रकाशन भएका छन् ।

पुरस्कारको राशी जनही ११ हजार एकसय ११ छ । उक्त पुरस्कार एक औपचारिक कार्यक्रमका बीच प्रदान गरिने नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउँदले जनाएका छन् ।