April 18, 2026, Saturday
२०८३ बैशाख ५

‘धराप’ घरमा बस्छन् प्रहरी

वसन्तप्रताप सिंह

बझाङ, कार्तिक २१ (ई-रैवार) 

घरका भित्ताहरू चर्किएका छन् । धेरै ठाउँमा गाह्रो उप्किएको छ । भित्ता र पर्खालहरू पनि सुरक्षित देखिँदैनन् । जीर्ण झ्यालहरू बन्द गर्न नमिल्ने अवस्थामा छन् । यही जोखिमयुक्त घरमा बझाङको देवल विमानस्थलको सुरक्षाका लागि खटिएका ११ जना प्रहरी बस्छन् ।

जस्तापाता ठोकेर काम चलाइएको भए पनि ठाउँठाउँमा ठूल्ठूला प्वाल देखिन्छन् । झ्याल राम्रोसँग बन्द नहुँदा जाडो बढेसँगै प्रहरीलाई रात कटाउन पनि मुस्किल हुँदै गएको छ । ‘गर्मी हुँदा सर्पको डरले निन्द्रा लाग्दैनथ्यो । जाडो बढेपछि चिसोले सताउन थालेको छ,’ प्रहरी हवल्दार कम्मान कार्कीले भने, ‘यो बर्खामा मात्रै ६ वटा सर्प कोठाभित्रै मार्‍यौं । धन्न कसैलाई टोक्न पाएन ।’

प्वालैप्वाल भएका झ्यालहरू जमिनको नजिक भएकाले सर्प सजिलै भित्र पस्ने गरेको उनले बताए । अहिले सबै झ्यालमा जस्तापाता ठोकिएकाले कोठाभित्र दिउँसै पनि अँध्यारो हुने र विद्युत् अवरुद्ध भएको बेला भित्र पस्न पनि डर लाग्ने गरेको उनले बताए ।

यहाँ बस्ने प्रहरीहरूलाई भूकम्पको पनि उत्तिकै जोखिम छ । सबैतिरका भित्ताहरू चर्किएकाले सानो भूकम्प जाँदा पनि घरै भत्किने हो कि भन्ने डर लाग्ने गरेको प्रहरीहरू बताउँछन् । ‘यस्तो धरापमा बस्दा डर त लागिहाल्छ,’ विमानस्थल सुरक्षागार्ड प्रमुख सई सुन्दरसिंह धामीले भने, ‘अरू विकल्प नभएकाले यसैलाई टालटुल पारेर बसेका छौं । विमानस्थलको सुरक्षा त गर्नैपर्‍यो ।’ उनले विमानस्थल सुरक्षाका लागि खटिएका प्रहरीका लागि खानेपानीको पनि समस्या रहेको बताए ।

२०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावर रहेको घरमा विस्फोट गराउँदा छेउमै रहेको सुरक्षा गार्डको भवनमा पनि क्षति पुगेको थियो । २०५९ मा माओवादीले अर्काे शक्तिशाली विस्फोट गराएपछि टावरसहित प्रहरी बस्ने भवन पनि ध्वस्त भएको थियो । विस्फोटका कारण टावरनजिक रहेको कर्मचारी आवास गृहको एउटा भवनको झ्याल ढोका भत्किनुका साथै छाना खसेको थियो । अर्काे भवनका झ्यालका सिसाहरू फुट्नुका साथै भित्ताहरू चर्किएका थिए ।

कान्तिपुरबाट