October 26, 2026, Monday
२०८३ कार्तिक १०

कोजाग्रत पूर्णिमा मनाइयो, महालक्ष्मीको पूजा गर्दै दसैंलाई बिदाइ

काठमाडौं । महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेर आइतबार कोजाग्रत पूर्णिमा मनाइएको छ। यससँगै आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको १५ दिने बडादसैं पर्व विधिवत् रूपमा समापन भएको छ।

दुर्गा पक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा देशभर घरघरमा धनधान्य तथा समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरिएको हो। धार्मिक मान्यताअनुसार यस रात जाग्राम बस्ने भक्तजनको घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने विश्वास छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम पनि आइतबार नै सम्पन्न भएको छ। अखिल बलिपूर्तिसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त भएको छ।

दसैंमा प्रयोग गरिएको जमरा पनि आइतबार नदी, तलाउ, पोखरीलगायतका पवित्र तीर्थस्थलमा लगेर सेलाइएको छ। यससँगै दसैंसँग जोडिएका प्रमुख धार्मिक विधि र परम्पराको औपचारिक समापन भएको हो।

समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईका अनुसार कोजाग्रत पूर्णिमाको रात पृथ्वी भ्रमणमा निस्कने महालक्ष्मीले ‘को जागेको छ?’ भनेर खोज्ने र जाग्राम बसेको घरमा प्रवेश गरी धनधान्य तथा ऐश्वर्य प्रदान गर्ने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा कोजाग्रत पूर्णिमा मनाउने परम्परा रहिआएको हो।

माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदाइ गरिन्छ। नवरात्र भने विजयादशमीकै दिन समाप्त भए पनि समग्र दुर्गा पक्ष आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुने धार्मिक मान्यता छ।

कोजाग्रत पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ। लक्ष्मीपूजाभन्दा १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रहेको मानिन्छ।

महालक्ष्मीका साथै हात्तीमा सवार इन्द्रको समेत पूजा गर्ने परम्परा छ। पूजा आराधना सम्पन्न गरेपछि भक्तजन रातभर जाग्राम बस्ने चलन छ।