October 26, 2026, Monday
२०८३ कार्तिक १०

एनपीएल तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। प्रधानमन्त्री शाह आज अपराह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको हो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहबाटै एनपीएलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

यसअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत एनपीएलको तेस्रो संस्करणको सफलताको शुभकामना दिएका थिए। उनले एनपीएल केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको बताएका छन्।

प्रधानमन्त्री शाहले एनपीएलमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन्।

तेस्रो संस्करणको उद्घाटन खेल आज साँझ ५ बजेबाट सुरु हुनेछ। उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

गत संस्करणको फाइनलमा पनि यी दुई टोली भिडेका थिए, जहाँ सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। त्यसैले एनपीएलको तेस्रो संस्करणको सुरुवाती खेलमै च्याम्पियन लुम्बिनी र बदला लिने लक्ष्यमा रहेको सुदूरपश्चिमबीचको प्रतिस्पर्धाले थप रोमाञ्चकता थप्ने अपेक्षा गरिएको छ।