October 26, 2026, Monday
२०८३ कार्तिक १०

दसैंमा सुदूरपश्चिमका सडकमा १५२ दुर्घटना : ६ जनाको मृत्यु, २४३ घाइते

धनगढी । सुदूरपश्चिममा यस वर्ष दसैंका बेला सवारी दुर्घटना अघिल्लो वर्षको दसैं–छठ अवधिभन्दा पनि बढेको छ। घटस्थापनादेखि शुक्रबारसम्म १५२ सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु र २४३ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष दसैंदेखि छठ पर्वसम्म प्रदेशभर १२२ वटा सवारी दुर्घटना भएका थिए। यस वर्ष भने दसैंमै दुर्घटनाको संख्या ३० ले बढेको हो।

कैलाली दुर्घटनाको उच्च जोखिममा देखिएको छ। जिल्लामा मात्रै ८८ सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु र १४६ जना घाइते भएका छन्। कञ्चनपुरमा ३५ दुर्घटनामा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन्।

अन्य जिल्लामा मानवीय क्षति नभए पनि दुर्घटनाको संख्या उल्लेख्य छ। डडेल्धुरामा १०, डोटीमा ८, अछाममा ५, दार्चुला र बाजुरामा दुई–दुई तथा बझाङ र बैतडीमा एक–एक दुर्घटना भएका छन्। यी जिल्लामा भएका दुर्घटनामा ४७ जना घाइते भएका छन्।

अघिल्लो वर्ष दसैंदेखि छठसम्म १२२ दुर्घटनामा २३ जनाको मृत्यु र २५३ जना घाइते भएका थिए। यस वर्ष दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या भने १७ ले घटेको छ भने घाइतेको संख्या १० ले कम भएको छ।

तथ्यांकले चाडपर्वमा सवारी दुर्घटना नियन्त्रण र न्यूनीकरण प्रहरीका लागि थप चुनौती बन्दै गएको देखाएको छ। दसैंका बेला सवारी चाप बढ्नु, लामो दूरीको यात्रा, तीव्र गति र चालकको लापरबाहीले दुर्घटनाको जोखिम बढाउने गरेको प्रहरीको भनाइ छ।

यद्यपि दुर्घटनाको संख्या बढ्दासमेत मृत्यु हुनेको संख्या घट्नु सकारात्मक संकेत मानिएको छ। चाडपर्वका बाँकी दिनमा समेत सडकमा सवारी चाप रहने भएकाले चालक, यात्रु र ट्राफिक प्रहरी सबै पक्षबाट थप सावधानी र नियमको कडाइका साथ पालना आवश्यक देखिएको छ।