मेल्लेखका स्थानीयले ३२ बर्षपछि लालपुर्जा पाए, घर–घरमा दिपावली

अछाम, असोज २७ (ई-रैवार)
मेल्लेख गाउँपालिका स्थानियले ३२ बर्षपछि लालपुर्जा पाएपछी घर–घरमा दिपावली मनाएका छन । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ का बासिन्दाले ३२ बर्षपछि लालपुर्जा पाएका हुन ।
२०४५ साल पछि मेल्लेखका २ सय ५० घरधुरीलाई जग्गाधनी लालपुर्जा पाएपछी खुसीमा घर–घरमा दिपावली समेत मनाएका छन् ।
मेल्लेख गाउँपालिका अध्यक्ष धनबहादुर शाहीले २०४५ साल पछि मेल्लेखका २ सय ५० घरधुरीलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको बताएका छन् । वाँकी रहेका अन्य १ सय ५७ घरधुरीलाई पनि तत्काल लालपुर्जा वितरण गरिने अध्यक्ष शाहीले बताए ।
२०४५ सालदेखि साविकको कुसकोट र ठाँटीबीच (हाल मेल्लेख गाउँपालिका वडा नम्वर ३) को सीमा विवादका कारण लालपुर्जा वितरण कार्य रोकिएको थियो । लालपुर्जा वितरण रोकिएको ३२ बर्षपछि सोमवार वितरण गरिएको हो ।
२०४५ सालमा अन्यले लालपुर्जा पाए पनि दुई गाउँमा पर्ने सीमा विवादका कारण आफुहरुले नपाएको मल्लेख गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष केशव बहादुर शाहले जानकारी दिए । ‘आफु सहित ठाँटीमा बस्ने कसैको पनि लालपुर्जा थिएन’ उनले भने,–‘यस वर्षको दशैँ भने पनि दिपावली भने पनि हाम्रो लागि यही हो ।’ यो खुसीयालीसँगै ठाँटीका घर घरमा दिप प्रज्वलन गरेर दिपावली मनाएको उनले बताए ।
मेल्लेख गाउँपालिकाले एक कार्यक्रमका बीच लालपुर्जा हस्तान्तरण गरिएको थियो । लालपुर्जा पाएपछि आफ्नो खुसीको सीमा नै नभएको ठाँटीकै धौले नेपालीले बताए । पहिलो पटक हातमा लालपुर्जा पर्यो, उनले भने,–‘अव चाहि भुमीको मालिक भईयो ।’ २०५६ सालमा आएर दुई गाउँबीच एक आपसमा सहमति भएपछि सीमा विवाद टुङ्गीएको थियो । २०५७ सालमा मालपोत कार्यालय अछाममा प्रमुख नभएर निमित्तको भरमा चलेको थियो ।
लालपुर्जाका लागि प्रमुख नभएर नहुने हुँदा रोकिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मेल्लेख गाउँपालिका सह–इन्चार्ज हेमराज शाहले बताए । विवादीत क्षेत्र ठाँटी बाहेक अन्य नाप नक्सा र दर्ता प्रक्रिया भईसकेको थियो ।
२०५८ मा तत्कालिन माओवादीले अछामको मंगलसेनमा आक्रमण गरेपछि सम्पुर्ण कार्यालय ध्वस्त भए । सम्पुर्ण कागजात जलेर नष्ट भए। कार्यालयमा भएका कागजात जलेपछि ठाँटीका स्थानीयसँग केही प्रमाण समेत थिएन । श्रेस्ता नहुँदा त्यहाँका स्थानीयबासिन्दालाई लालपुर्जा लिनको लागि निकै समस्या भएको थियो ।





प्रतिकृया दिनुहोस्