April 18, 2026, Saturday
२०८३ बैशाख ५

आन्दोलनमा उत्रिए शिक्षकहरु, प्याब्सनको कार्यालयमा तालबन्दी

 

महेन्द्रनगर, भदौ २१ (ई-रैवार)

संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन । संस्थागत विद्यालयहरुले गत शैक्षिक सत्रको तलब समयमै नदिँदा समस्या भएको र तलब माग्दा निस्कासन गर्ने धम्की दिन थालेपछी शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन ।

कञ्चनपुरमा रहेको संस्थागत विद्यालय युनियन (आईएसटीयू) ले प्याब्सन र एनप्याब्सन कार्यालयमा तालाबन्दी गरेका छन । पहिलो चरणको आन्दोलनमा आईतबार (आईएसटीयू), कञ्चनपुरले बिज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको हो ।

आईएसटीयू कञ्चनपुरका अध्यक्ष चन्द्रसिंह धामी र सचिव शंकरदत्त जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा संस्थागत विद्यालयहरुले गत शैक्षिक सत्रको तलब समयमै नदिँदा समस्या भएको र तलब माग्दा निस्कासन गर्ने धम्की दिने गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

साथै विज्ञप्तिमा कर्मचारीहरुको १ लाख बराबरको कोभिड–१९ बिमा संस्थागत विद्यालयबाट तत्काल गर्न माग गरिएको छ ।

जीवनको अमूल्य समय संस्थागत विद्यालयहरुलाई दिँदा पनि २०७६ पुसयताको तलब नदिँदा समस्या भएको संस्थागत विद्यालय युनियन, जिल्ला समिति कञ्चनपुरका अध्यक्ष चन्द्रसिंह धामीले बताएका छन ।

गत आर्थिक बर्षको सम्पर्ण र कुनै कटौति नगरी लकडाउन अवधिको कम्तिमा ३ महिनाको तलब दिन अनुरोध गरिएको छ । तलब नदिए संस्थागत विद्यालयहरुबिरुद्ध कडा रुपमा प्रस्तुत हुने अध्यक्ष धामीले चेतावनी दिए ।

अध्यक्ष धामीले भने, ‘लकडाउनको बहानाबाजी गरी अघिल्लो शैक्षिक सत्रको तलब नदिने तथा यस्तो विषम परिस्थितिमा शिक्षक कर्मचारीहरुको रोजीरोटी खोस्ने कार्य गैरकानुनी र अमानवीय छ ।’

माग पूरा नगरिए आन्दोलनबाट हुने र भौतिक क्षतिकोे जिम्मा आईएसटीयू कञ्चनपुरले नलिने विज्ञप्तिमा भनिएको छ ।