कैलालीमा भोली देखि निषेधाज्ञा खुकुलो हुने, सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने

धनगढी, भदौ १९ (ई-रैवार)
कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबार (भोली) देखि खुकुलो हुने भएको छ । कोभिड–१९ को महामारीको संक्रमणलाई नियन्त्रण गर्न गरीएको निषेधाज्ञालाई शनिबारबाट खुकुलो हुने भएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्त सम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्ने लागिएको बताएका छन ।
प्रमुख जिल्ला अधिकारी बोहराका अनुसार सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । तर ५० प्रतिशत यात्रु मात्रैं बोक्न पाउने छन । भिडभाड नगरी बिहान ५ देखि ७ बजेसम्म मात्रै व्यापार र व्यवसाय खोल्न पाउने छन ।
होटल रेस्टुरेन्टहरुले होमडेलीभरि मात्रै गर्न पाउने प्रमुख जिल्ला अधिकारी बोहोराले बताए । उनका अनुसार सेवाग्राहीको बढी भिडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादन बाहेक सेवा बन्द नै हुने छन ।
प्रमुख जिल्ला अधिकारी बोहोराका अनुसार अन्य सरकारी कार्यालयहरुले आधा कर्मचारी राखेरमात्रै कार्य सम्पादन गर्नु पर्ने छ । बैंक बित्तीय संस्थाहरुले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउने छन् । र सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ ।
यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटिपार्लर, सैलुन लगायतका सेवाहरु सबै बन्द नै रहने छन । मेलाजात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पनि बन्द नै रहने जनाएको छ ।
कञ्चनपुरमा केहि खुकुलो पार्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी
कञ्चनपुर जिल्लामा जारी निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जिल्ला शुरक्षा बैठकले केहि खुकुलो पार्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने प्रशासनले जनाएको छ ।
प्रशासनले एक सुचना जारी गर्दै भदौ १९ गते राती १२ बजेदेखि भदौ ३१ गते राती १२ बजे सम्मका लागी निषेधाज्ञालाई निरन्तरता दिएको जानकारी दिएको छ ।
व्यापार व्यवसाय विहान ६ बजेदेखि बेलुका साढे ५ बजेसम्म सञ्चालन गर्न पाईने छ भने बेलुकी साढे ५ बजेदेखि बिहान ६ बजे सम्म अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।





प्रतिकृया दिनुहोस्