April 18, 2026, Saturday
२०८३ बैशाख ५

उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली कञ्चनपुरमा परिचालन

 

कञ्चनपुर, भदौ १४ (ई-रैवार)

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।

महाकाली नगरपालिका कञ्चनपुरमा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको हो ।

शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली संक्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो ।

जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना संकलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए । ‘महामारीको संकेत छैन’, उनले भने, ‘रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।’

उच्च ज्वरो आएका ३ जना बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्ल्र र २ जनाको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा. गगन चौधरीका अनुसार उच्च ज्वरोसँगै मौसमी ज्वरोका बिरामीको चाप बढेको छ ।

निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र २ जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् ।