डडेल्धुरामा निषेधाज्ञा भदौ १९ सम्म थपियो, कैलालीमा जारी राख्न सिफारिस

डडेल्धुरा, भदौ १३ (ई-रैवार)
डडेल्धुरामा निषेधाज्ञा भदौ १९ सम्म थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको शुक्रबारको बैठकले निषेधाज्ञा भदौ १९ सम्म थप्ने निणय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले शुक्रबार सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको बताए ।
जिल्लामा संचालित अतिआश्यक सेवा तथा वस्तु बिक्री वितरण गर्ने पसलबाहेक सम्पूर्ण पसल शुक्रबारदेखि १९ भदौसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन् । पलस संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उनले बताए ।
बैंक तथा वित्तीय संस्था बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै संचालनमा रहने छन् । जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकललाई शुक्रबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।
कैलालीमा निषेधाज्ञा १९ गतेसम्म जारी राख्न सिफारिस
जिल्ला सुरक्षा समितिको बैठकले कैलालीमा निषेधाज्ञा भदौ १९ गतेसम्म बढाउन सिफारिस गरेको छ। यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार १४ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । शुक्रबार जिल्ला सुरक्षा समितिको बैठकले १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो।
उक्त सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले आज आदेश जारी गर्नेछन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी भएको थियो । लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताउँदै आएको छ।
औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाइएको छ भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ।





प्रतिकृया दिनुहोस्