सडकका नाममा अवैध वन फँडानीको संसदीय समितिद्वारा स्थलगत अध्ययन

राम धामी
डडेल्धुरा, भदौ ८ (ई-रैवार)
सडक निर्माणका क्रममा अवैधरूपमा सालका रुख काटिएको विषयलाई लिएर संसदीय समितिले स्थलगत अध्ययन गरेको छ । डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र आलिताल गाउँपालिका–८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा अवैधरूपमा सालका रुख काटिएको विषयमा सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले आइतबार स्थलगत अध्ययन गरेको हो ।
प्रदेशसभा सदस्य दीर्घराज सोडारीको नेतृत्वमा पाँच सदस्यीय संसदीय समितिले स्थलगत अध्ययनका आधारमा छानबिन प्रतिवेदन पेस गर्ने र सो प्रकरणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले जानकारी दिए ।
आलिताल गाउँपालिकाअन्तर्गतको गोदाम बजारदेखि डोला गाउँ जोड्ने सडकको निर्माणका क्रममा सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा रहेका अवैधरूपमा सालका रुखहरू काटिएका छन् । आलिताल गाउँपालिकाको लगानीमा निर्माणाधीन गोदाम बजारदेखि डोला गाँउ जोड्ने चक्रपथ सडकको निर्माणका क्रममा सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा रहेका सालका रुख काटिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।
आलिताल गाउँपालिकाको समपूरक कोषअन्तर्गत निर्माण शुरू गरिएको सडकमा रहेका रुख वन कार्यालयको अनुमती विना कटानी गरि गोलिया बनाएर लुकाई राखेको अवस्थामा फेला पारेको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त डिभिजनल वन अधिकृत डबलबहादुर बोहराले जानकारी दिए ।
सो सडक निर्माणका क्रममा कोटिएका एक सय १० थान गोलिया काठ बरामद गरिएको र बाँकी लुकाएर राखिएको काठको खोजी भईरहेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । सो सडक क्षेत्रमा २ हजार क्युविक फिटभन्दा बढी साल अवैरूपमा काटिएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको निमित्त डिभिजन प्रमुख बोहराले जानकारी दिएका छन ।
बोहरासहित घटनास्थल पुगेको वनको टोलीले शुक्रबार उक्त क्षेत्रमा काठ गोलिया बनाइरहेको अवस्थामा स्थानीय श्याम दास र रजनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गोपालसिंह धामीलाई नियन्त्रणमा लिएको र कोरोना परीक्षणपछि प्रहरीमा बुझाएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइने डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।
डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले विकास निर्माणका क्रममा स्थानीय तहबाट मात्रै नभई प्रदेश सरकारका योजनामा समेत अवैधरूपमा रुख काटिने गरेको बताएका छन । सडक निर्माणका क्रममा अनुमतिबिना नै रुख काट्ने प्रवृत्ति बढेको बताउँदै डिभिजनल वन अधिकृत आचार्यले सुदूरपश्चिम प्रदेशसभाले वनसम्बन्धी ऐन ल्याउन ढिलाइ गरेकाले पनि कानुनी जटिलता रहेको बताए ।
सडक निर्माणका क्रममा काठ काटिएको भए पनि सो बारेमा ढिला गरी वन कार्यालयलाई जानकारी प्राप्त भएको जनाउँदै सडक निर्माण कम्पनीलाई समेत अनुसन्धानको दायरामा ल्याउने वन कार्यालयले जानकारी दिएको छ । सो सडक निर्माणका लागि आलिताल गाउँपालिकाले ठेक्कामार्फत उग्रतारा निर्माण सेवासँग सम्झौता गरेर काम गरेको गाउँपालिकाले बताएको छ । निर्माण कम्पनीले सडक निर्माणका क्रममा ढालिएका सालका रुखको गोलिया बनाएर लुकाएर राखेको पाइएको छ ।





प्रतिकृया दिनुहोस्