April 18, 2026, Saturday
२०८३ बैशाख ५

२७ वाणिज्य बैंकको गत आर्थिक वर्षमा ५४ अर्ब ३२ करोड मुनाफा

 

विजय पराजुली

काठमाडौं, साउन ३२ (ई-रैवार)

कोभिड १९ को प्रभाव बैंकको वित्तीय विवरणमा देखिएको छ । गत आर्थिक वर्ष (०७६र७७) मा वाणिज्य बैंकहरूको खुद मुनाफामा करिब १२ प्रतिशतले संकुचन आएको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले ५४ अर्ब ३१ करोड ६० लाख ८९ हजार खुद मुनाफा आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष (०७५र७६) को भन्दा ११।९५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकले ६१ अर्ब ६९ करोड १ लाख ५४ हजार खुम मुनाफा आर्जन गरेको थिए ।

गत आर्थिक वर्षमै ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जर भएको तथा कैलाश विकास बैंक, ओम डेभलपमेन्ट बैंक तथा कन्काई विकास बैंक विभिन्‍न वाणिज्य बैंकमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्दा यी बैंकले गर्दै आएका व्यवसायसमेत वाणिज्य बैंकमा थपिएको थियो । यसलाई आधार मान्‍ने हो भने वाणिज्य बैंकहरूको खुद मुनाफामा अझै गिरावट आएको देखिन्छ । आर्थिक वर्षको अन्त्यमा गण्डकी विकास बैंक, देव विकास बैंक र सहयोगी विकास बैंक पनि वाणिज्य बैंकमै विलय हुन पुगेका थिए ।

कोभिड १९ ले समग्र अर्थतन्त्रमा परेको प्रभाव बैंकहरूको वित्तीय विवरणमा पनि परेको हो । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चैत मसान्तमा असुल हुन्पर्ने ब्याज रकममा १० प्रतिशत छुट दिन तथा चौथौ त्रैमासमा चैत मसान्तमा कायम रहेको ब्याजमा २ प्रतिशत विन्दुले घटाएर गणना गर्न निर्देशन दिँदा त्यसको प्रभावले बैंकहरूको नाफा घटेको हो ।

राष्ट्र बैंकको उक्त निर्देशनका बाबजुत पनि कतिपय बैंकको आम्दानीमा वृद्धि हुँदासमेत खुद नाफा भने घटेको छ । एनएफ आरएस अनुसार वित्तीय विवरण तयार पर्दा बैंकहरूले नउठेको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ ।

कोभिडको कारणले प्रभावित व्यवसायीहरूले असार मसान्तमा कर्जाको सावाँ तथा ब्याज तिर्न नसक्दा बैंकहरूको ठूलो कर्जा असुल हुन सकेको छैन । गत पुस मसान्तमा असल वर्गमा रहेको तर असार मसान्तमा असुल हुन नसकेको कर्जाको ५ प्रतिशत रकम बैंकहरूलाई प्रोभिजन गर्न राष्ट्र बैंकले निर्देशन दिँदा बैंकहरूले ठुलो मात्रामा सम्भावित कर्जा जोखिमका लागि प्रोभिजन गरेका छन् । जसले गर्दा बैंकहरूको आम्दानी बढ्दा पनि खुद नाफामा भने गिरावट आएको हो ।

बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा ५ वटा बैंकको नाफामा वृद्धि भएको छ । नाफा बढाउने ५ वटा बैंकमध्ये ३ वटा बैंकक मर्जर तथा प्राप्ति गरी गत आर्थिक वर्षमै एकीकृत कारोबार सुरु गरेका छन् । ग्लोबल आइएमई बैंकले जनता बैंकसँग मर्जर गरेको थियो । गत मंसिरबाट एकीकृत कारोबार सुरु गरेको बैंकले मंसिरपछि दुवैले कमाएको नाफा वित्तीय विवरणम देखिँदा नाफामा वृद्धि देखिएको हो । यस्तै नाफा बढाएको प्राइम कमर्सियल बैंकले पनि गत आर्थिक वर्षमा कन्काई विकास बैंक र कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको थियो भने एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गरेको थियो ।

एनआईसी एशिया बैंक र सेञ्चुरी कमर्सियल बैंकले भने व्यवसाय विस्तार गरेरै नाफा कमाएका हुन् । एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दा आएको वार्गेन गेनलाई समेत गैरसञ्चालन आम्दानीका रुपमा खुद नाफामा देखाएको छ । जसले गर्दा पनि बैंकको खुद नाफामा सामान्य वृद्धि देखिएको हो ।

यद्यपि बैंकहरूले अहिले प्रकाशित गरेको वित्तीय विवरण औपचारिकताका लागि मात्रै हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गत आर्थिक वर्षमा असुल हुनुपर्ने ब्याज चालु आर्थिक वर्षको असोज मसान्तसम्म असुल भए पनि त्यसलाई गत आर्थिक वर्षको आम्दानी जनाउन सक्ने व्यवस्था छ। जसले गर्दा बैंकहरूले आगामी असोज मसान्तसम्म असुल गरेको ब्याजलाई गत वर्षको मुनाफामा देखाउन सक्छन् । असोज मसान्तमा थप ब्याज असुल भए बैंकहरूले गरेको प्रोभिजन पनि घट्नसक्ने र हुँदा बैंकहरूको लेखापरीक्षणपछिको वित्तीय विवरणमा मुनाफा थप बढ्न सक्नेछ ।

बाह्रखरीबाट