April 18, 2026, Saturday
२०८३ बैशाख ५

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना

 

धनगढी,साउन २७ (ई-रैवार)

आज देशभर भगवान् श्रीकृष्णको जन्मदिन वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको कथन छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी गिरेकी छिन् ।

विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना पनि प्रकट गरेकी छिन् ।

विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन् । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छन् ।