April 18, 2026, Saturday
२०८३ बैशाख ५

भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस

 

काठमाडौं, साउन २५ (ई-रैवार)

भारतीय विदेश मन्त्रीको अभिव्यक्तिलाई नेपाली काग्रेशले आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् ।

बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गरेका हुन् । ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन ।’

२०७२ सालमा नेपालमा नाकाबन्दी लगाउँदा विदेश सचिव रहेका जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीकै उत्तेजित अभिव्यक्तिले भारतीयहरु गलत अभिव्यक्ति दिँदैछन् : डा. महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बेला बेलामा उत्तेजक अभिव्यक्ति दिँदा भारतीयहरुले पनि गलत सन्देश प्रवाह गरिरहेको बताए ।

भारतीय विदेश मन्त्री जयशंकरले गौतम बुद्ध र महात्मा गान्धी दुई महान भारतीय रहेको बताएका थिए ।

“अहिलेसम्मका दुईजना महान भारतीय को हुन् रु तपाइँ कसलाई सम्झनुहुन्छ ?” उनको भनाइ थियो, “म भन्छु एकजना गौतम बुद्ध र अर्का महात्मा गान्धी हुन् । भारतीयले मात्रै होइन संसारले सम्झने नाम हुन् ।”

यता प्रधानमन्त्रीले पनि बेला बेलामा विवादास्पद अभिव्यक्ति दिँदा भारतीयहरुले पनि गलत अभिव्यक्ति दिन थालेको डा. महतको भनाइ थियो । “जिम्मेवार पदमा रहेका व्यक्तिले गलत अभिव्यक्ति दिनुहुँदैन,” उनले भने, “यसले गलत सन्देश जान्छ ।”

भारतका विदेशमन्त्री एस जयशंकरले बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । तर यसलाई नेपालका राजनीतिज्ञहरुले गलत अभिव्यक्ति भनेका छन् ।