April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा एक सातामै ४ सय ६८ कोरोना संक्रमित थपिए

 

कैलाली, श्रावण २२ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा एक सातामै चार सय ६८ संक्रमित थपिएका छन । पछिल्लो सयम कोरोना संक्रमण पुनः तीव्र बन्न थालेको हो ।

एक सातामै यहाँ ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशभर संक्रमितको संख्या ४ हजार ७ सय १ पुगि सकेको छ । स्वास्थ्य कार्यालयका कैलालीमा मात्रै १ हजार २ सय ६० जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार विदेश यात्रा नगरेका व्यक्तिमा पनि संक्रमण देखिनु चिन्ताजनक विषय हो । यसले कोरोना संक्रमण समुदायमै फैलन थालेको संकेतगरेको उनको बुझाई रहेको छ ।

अहिलेसम्म अधिकांश संक्रमित भारतबाट फर्केकाहरू रहेका उनले जानकारी दिए । ‘ट्राभल हिस्ट्री नभएकाहरूमा संक्रमण बढ्दो छ । भारतबाट फर्केका संक्रमितको सम्पर्कका कारण कहीँ यात्रा नगरेकामा पनि संक्रमण देखिन थालेको हो,’ धामीले भने, ‘संक्रमण फैलन नदिन व्यक्ति आफैँले सतर्कता अपनाउनुपर्छ ।’

जनसंख्याको चाप बढी भएका धनगढी उपमहानगरपालिका, गोदावरी र लम्की–चुहा नगरपालिकामा कोरोना संक्रमण तीव्र बनेको छ । सबैभन्दा बढी गोदावरीमा ४ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्केकाहरूलाई परीक्षणविनै घर पठाइनु तथा क्वारेन्टाइनबाट घर फर्किसकेपछि पोजेटिभ रिपोर्ट आउनुले संक्रमण समुदायउन्मुख देखिएको चिकित्सकहरूको भनाइ छ ।

तीन दिनअघि मात्रै गोदावरी नगरपालिकामा घर फर्किसकेका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रिपोर्ट आउन हुने ढिलाइले घर फर्केपछि संक्रमण पुष्टि भएका कैयौँ उदाहरण सुदूरपश्चिममा यस अघि पनि देखिएका थिए ।

सुदूरपश्चिम प्रदेशमा विदेश नगएका कैयौँ व्यक्तिमा कोरोना संक्रमण देखिन थालेको छ । यसले सुदूरपश्चिममा कोरोना संक्रमण समुदायउन्मुख रहेको संकेत गर्ने चिकित्सकहरूको भनाइ छ । स्थानीयमा संक्रमण देखिनुले समुदायमा कोरोना जान लागेको संकेत गर्ने सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. जगदीशप्रसाद जोशी बताउँछन् ।

भारतबाट फर्केकालाई सीधै घर पठाइँदा जोखिम

भारतबाट नेपाल फर्कनेहरू रोकिएका छैनन । अहिले पनि दैनिक सयभन्दा बढी व्यक्ति प्रदेशका विभिन्न नाकाबाट स्वदेश फर्किरहेका छन । तर, स्थानीय तहहरूले भारतबाट फर्केकालाई क्वारेन्टाइनमा नराखेर स्वास्थ्य जाँचविनै सीधै घर पठाउने गरेका छन ।

साउनको सुरुदेखि नै यहाँका अधिकांश स्थानीय तहले क्वारेन्टाइन बन्द गरेका छन । धनगढी उपमहानगरले १ साउनदेखि क्वारेन्टाइन बन्द गरेर भारतबाट फर्केकालाई सीधै घर पठाइरहेको छ । उनीहरूलाई सीधै घर पठाउँदा संक्रमण समुदायमा जोखिम बढेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भएको मुलुकमा पर्ने भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । त्यसैले भारतबाट फर्केने हरेक नेपाली कोरोना संक्रमित हुन सक्ने डा. अवस्थीले बताए । ‘भारतबाट फर्केकालाई नाकामै व्यवस्थापन नगर्ने हो भने कोरोना संक्रमण समुदायमा फैलनबाट रोक्न सकिँदैन,’ डा. अवस्थीले भने, ‘अहिले स्वदेश फर्केकालाई सीधै घर पठाउन थालिएको छ, यो हामी सबैका लागि घातक हो ।’ उनले पनि सुदूरपश्चिममा संक्रमण समुदायउन्मुख रहेको स्वीकार गरे ।

कैलारी गाउँपालिकामा लकडाउन

कोरोना संक्रमण बढ्न थालेपछि कैलारी गाउँपालिकामा लकडाउन गरिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि बुधबारबाट लकडाउन गर्ने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।

कैलारी–१ स्थित दीपेन्द्र माविको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका ३ सहित ७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितहरू धेरैको सम्पर्कमा पुगेको पाइएकोले लकडाउन गरिएको गाउँपालिकाले जनाएको छ ।