कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा स्थानीय र प्रहरीबीच झडप, ७ प्रहरी घाइते

वीरगञ्ज, साउन १७ (ई-रैवार)
कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा झडप हुदा ७ जना प्रहरी घाइते भएका छन । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप हो ।
शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएपछि संक्रमितको शव व्यवस्थापनका क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले जानकारी दिए ।
प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तसहित ७ जना प्रहरी घाइते भएका छन् । प्रहरी नायव उपरिक्षक गौतमका अनुसार स्थानीय घाइते भए नभएको खुलेको छैन ।
शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेका थिए । भिडलाई नियन्त्रणमा लिन आधा दर्जन सेल अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरी नायव उपरिक्षक गौतम जानकारी दिए ।
गाउँ नजिकै जंगलमा शव गाड्दा आफूहरुलाई हानी गर्न सक्ने डरले स्थानीयले विरोध गरेको मिलन चोकका प्रकाश अर्याल बताउँछन् ।
बिहीबार वीरगञ्जमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको थियो । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ ।





प्रतिकृया दिनुहोस्