मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव, प्रचण्ड मौन, नेपालको असंतुष्टी

काठमाडौं, साउन ३ (ई-रैवार)
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका छन् । पार्टीभित्र संकट गहिरिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मङ्सिरभित्रै महाधिवेशन गरेर आफूले नेतृत्व छाड्न तयार रहेको बताएका हुन् ।
प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालको पनि सहमति थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालसहितका केही नेताहरुले भने दुई अध्यक्षले औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका थिए । नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।
यसअघि माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले चैत २५–३० एकता महाधिवेशनको तिथि तय गरेको थियो । एकताका बेला २०७७ जेठ २ गतेभित्रै एकता महाधिवेशन गर्ने सहमति भए पनि माघमा बसेको केन्द्रीय कमिटीले मिति सारेको थियो ।
“पार्टी अध्यक्ष ओलीले मङ्सिरभित्रै महाधिवेशन प्रस्ताव गर्नुभएको छ । त्यसमा अर्का अध्यक्षको सहमति छ,” ओली निकट एक सचिवालय सदस्य भने, “पार्टी अब महाधिवेशनमा गयो । पार्टीभित्र देखा परेका तमाम समस्याको निकास अब महाधिवेशन नै हो ।”
मङ्सिरमै महाधिवेशन गर्ने प्रस्तावपछि ओलीको अहिलेको सत्ता सङ्कट टरेको उनको दाबी छ । आज झण्डै चार घण्टा सचिवालय बैठक बसेको थियो ।
शनिबार झण्डै चार घण्टा सचिवालय बैठक बसेको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनादेशको भावनाअनुरूप अघि बढ्ने निर्णय भएको जानकारी गराउँदै ओलीको सत्ता सङ्कट टरेको संकेत दिएका थिए ।
बैठकलगत्तै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।उनीहरूले बैठकमा सहमतिको प्रस्ताव तयार पारेर ल्याउने जानकारी गराएको ओलीनिकट सचिवालय सदस्यको दाबी छ । भोलि दिउँसो ३ बजेलाई तय भएको स्थायी कमिटी बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।







प्रतिकृया दिनुहोस