April 18, 2026, Saturday
२०८३ बैशाख ५

विपद व्यवस्थापन योजना तयार, सुरक्षा निकायलाई हाईअलर्टमा बस्न निर्देशन

धनगढी,  असार २७ (ई-रैवार)

कैलालीमा प्राकृति विपद व्यवस्थापनका पूर्व योजना तयार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट विपद प्रतिकार्यका योजना पारित गर्दै सोही अनुसारका तयारी थालिएको हो ।

केही दिन यता परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठुलो जनधनको क्षती भएका बेला कैलालीमा भने प्राकृति विपद व्यवस्थापनका पूर्व योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वताएका छन ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले विपद प्रतिकार्यका लागि विभिन्न कलस्टर बनाएर जिम्मेवारी बाडफाँड गरिएको बताउँदै जिल्लाका तीनवटै सुरक्षा निकायलाई हाइअल्टमा बस्न निर्देशन दिईएको जानकारी दिए। प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतका कार्यक्रमका लागि पनि पूर्व तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

जिल्लाका स्थानीय तहहरुलाई विपद प्रतिकार्य योजना बनाएर विपदको पूर्व तयारी गर्न, नदी कटान एंव डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएकाहरुलाई सुरक्षित स्थानमा राख्न सहयोगका लागी समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

कैलालीमा भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकाका कर्णाली नदी, मोहना नदी, कान्द्रा नदी नजिकमा पर्ने बस्तीहरु कटान एंंव डुबानको जोखिममा रहेको प्रशासनले जनाएको छ।

जिल्लामा रहेका विभिन्न नदी तथा ठुला खोलाहरुमा पानीको सतह मापन गरिदै आएकाले वहाव बढेपछि सर्तकता अपनाउन अपिल गरिदै आएको छ। तर अहिले भने सबै जसो नदीमा पानीको वहाव समान्य नै रहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।